विराटनगर- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री राईले ५ सदस्यीय मन्त्रिमण्डललाई विस्तार गरेल संगै प्रदेश १ मा मन्त्रीको संख्या १४ पुगे संगै एक जिल्ला एक मन्त्रीकाे संख्या पुगेकाे छ ।
प्रदेश १ मा हाल एक जना राज्यमन्त्री रहेका छन् भने १२ जना मन्त्री सहित मन्त्रीको संख्या १४ पुगेको हाे । मुख्यमन्त्री कार्यालयका अनुसार रामकुमार राई, राजन राई, खिनु लिम्बु, झलकबहादुर मगर, शेखरचन्द्र थापा, ओम प्रकाश सरावागी, प्रतापप्रकाश हाङगाम, उपेन्द्रप्रसाद घिमिरे मन्त्री नियुक्त भएका छन् । यस्तै विष्णु तुम्बाहम्फे राज्यमन्त्री बनेका छन् ।
गत कात्तिक १६ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरिएको हो । केहीअघि बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाउने निर्णय गरेर जम्बो मन्त्रीपरिषद् बनाइएको हो । इन्द्रबहादुर आङवो, आर्थिक मामिला, हिमाल कार्की सडक पूर्वाधार तथा सहरी, केदार कार्की आन्तरिक मामिला, जयराम यादव स्वास्थ्यमन्त्री यसअघि नै बनि सकेको थिए ।
आइतबार थपिएका रामकुमार राई खानेपानी तथा सिंचाई तथा ऊर्जा, राजन राई सामाजिक विकास, खिनु लिम्बु पर्यटन तथा संस्कृति, झलकबहादुर मगर कृषि, शेखरचन्द्र थापा बन, वातावरण तथा भू–संरक्षण, ओमप्रकाश सरवागी उद्योग, श्रम तथा रोजगार, प्रताम प्रकाश हाङगाम भूमि व्यवस्था र उपेन्द्रप्रसाद घिमिरे यातायात व्यवस्था तथा सञ्चार मन्त्री बनेका छन् । यस्तै राज्यमन्त्री बनेका विष्णु तुम्वाहाम्फेले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
आइतबार गठन भएको मन्त्रीमण्डल संगै प्रदेश १ मा रहेका हरेक जिल्लाबाट प्रतिनिधित्व नभए पनि हरेक जिल्ला अन्तरगत १–१ जना मन्त्रीको संख्या पुगेको छ । प्रदेशमा मन्त्रीकाे संख्या बढाएका कारण मूख्यमन्त्री राजेन्द्र राइकाे सर्वत्र आलाेचना समेत हुन थालेकाे छ ।