×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रपतिको लागि कांग्रेसको सचेत कसरत

राष्ट्रपतिको लागि  कांग्रेसको सचेत कसरत

काठमाडौं-राष्ट्रपतिमा ‘अर्जुनदृष्टि’ लगाएको कांग्रेस पार्टीमा आउन सक्ने ध्रुवीकरण र अन्य अवरोध रोक्ने गरी सचेतपूर्वक कसरत गरिरहेको छ । सभापति शेरबहादुर देउवा सरकार गठनका वेला पाएको असफलताको अपजस दोहोरिन नदिन पार्टीको इतरपक्षलाई समेत समेटेर अघि बढेका हुन् ।

देउवाले इतर समूहबाट महामन्त्री गगन थापा तथा आफूनिकट नेताहरू उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला र वरिष्ठ नेता रामचन्द्र पौडेललाई अन्य दल तथा नेतासँगको छलफल–सहमतिको भूमिकामा अगाडि लगाएका छन् । महामन्त्री थापा देउवाको निर्णयमाथि खरो रूपमा प्रस्तुत हुनेमध्येमा थिए । कांग्रेसले राष्ट्रपतिमा आफूले तय गर्ने उम्मेदवारको पक्षमा सम्भव भए राष्ट्रिय सहमति, नभए परिणाम ल्याउने गरी दलहरूसँग छलफल तीव्र पारिरहेको छ ।

यसैको तयारीस्वरूप कांग्रेसबाट अगाडि सार्ने उम्मेदवारको नाममा सहयोगका लागि आइतबार औपचारिक रूपमै प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गरेको थियो । पछिल्लो समय कांग्रेस नेताहरूले दिने अभिव्यक्तिमा समेत सत्तागठबन्धनमा समस्या आएकाले समीकरण परिवर्तन हुने र कांग्रेसले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्ने एक स्वर आइरहेको छ । 

इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालाले पनि सोमबार कांग्रेसको उम्मेदवारले नै बाजी मार्ने दाबी गरेका थिए । कांग्रेस सिन्धुली क्षेत्र नम्बर २ (१) ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीमा कुनै मतभेद नरहेकाले कांग्रेसले राष्ट्रपति जितेरै छाड्ने जिकिर गरेका थिए । ‘शेरबहादुरजी पार्टी सभापति हुुनुहुन्छ । हामीमा केही कुरा नबुझे खुलस्त भन्छाैँ । हामीमा समस्या छैन,’ उनले भनेका थिए, ‘राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार हुन्छ र जित्छ, यसमा म ढुक्क छु । कांग्रेसले राष्ट्रपति पाउने होइन, जितेर लिने हो ।’ 

कोइरालाको भनाइले पनि कांग्रेसमा पछिल्लो समय मतभेदलाई भुलेर राष्ट्रपतिका लागि एकजुट बनेको संकेत गर्छ । कांग्रेस नेताहरू पनि सरकार गठनमा देखिएको असफलतापछि राष्ट्रपति निर्वाचनमा अभूतपूर्व एकता देखिएको बताउँछन् । राष्ट्रपति निर्वाचनकै लागि पार्टीको केन्द्रीय कमिटी बैठकसमेत चल्न सकेको छैन । साथै नेताहरू एमालेले खेल्न सक्ने प्रतिकूल भूमिकामाथि समेत सूक्ष्म नजर राखिरहेका छन् ।

कांग्रेसले सहयोगका लागि प्रस्ताव गर्दा पात्र नभई, पार्टीको उम्मेदवारलाई सहयोग गर्न आग्रह गरिरहेको छ । एक पदाधिकारीका अनुसार पात्रको नाम बाहिर ल्याउँदा माहोल बिग्रने सम्भावनाका आधारमा यस्तो रणनीति तय गरिएको हो । कांग्रेसले खासगरी राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएको माओवादीले निर्णय गरेपछि बैठक बसेर उम्मेदवार टुंग्याउने तयारी गरेको छ । 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत पनि कांग्रेसमा पछिल्लो समय कुनै मतभेद नरहेको बताउँछन् । पार्टीमा एकमत भएर कांग्रेसबाट अघि सार्ने उम्मेदवारको पक्षमा सहमति जुटाउने प्रयास भइरहेको उनको भनाइ छ । ‘पार्टीमा कुनै विमति छैन । कांग्रेसको उम्मेदवारको पक्षमा राष्ट्रिय सहमतिका लागि दलहरूसँग निरन्तर छलफल भइरहेको छ । सरकारको नेतृत्व गरिरहेको माओवादीसहितका दलहरू हाम्रो प्रस्तावमा सकारात्मक नै हुनुहुन्छ,’ उनले भने, ‘उपयुक्त समय आएपछि पार्टीको बैठक बसेर उम्मेदवार कसलाई बनाउने भन्ने टुंगो लगाउँछौँ ।’ 

प्रतिकृया दिनुहोस्