काठमाडौं - चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलामा ठूलो पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडकखण्डमा दुईतर्फी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट करिब २.५ किलोमिटर नारायणगढतर्फ रहेको तुइन खोलामा शुक्रबार साँझ माथिबाट विशाल पहिरो खसेको हो।
इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जानकारीअनुसार दिउँसोदेखि हल्का वर्षा भइरहेको उक्त क्षेत्रमा साँझपख सिंगो भीर नै सडकमा खसेको छ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले पहिरोको आकार ठूलो भएकाले तत्काल हटाउन सम्भव नदेखिएको बताए।
उनका अनुसार शुक्रबार साँझ सवा ७ बजेतिर पहिरो खसेपछि राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ, जसका कारण यात्रुहरू सडकमै अलपत्र परेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा पनि यात्रुको बिचल्ली स्पष्ट देखिन्छ।