×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कांग्रेसको विशेष महाधिवेशन : तिस भन्दा बढी जिल्ला सभापति खुला समर्थनमा

कांग्रेसको विशेष महाधिवेशन :  तिस भन्दा बढी जिल्ला सभापति खुला समर्थनमा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको समर्थनसहित विशेष महाधिवेशन आह्वान गरेपछि पार्टीभित्र संगठनात्मक गतिविधि तीव्र बनेको छ। देशभरका विभिन्न जिल्ला कार्यसमितिहरूले औपचारिक विज्ञप्ति र अपिल जारी गर्दै विशेष महाधिवेशनको स्वागत र सहभागिताका लागि आह्वान गर्न थालेका छन्।

अहिलेसम्म ललितपुर, कास्की, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धनकुटा, बाँके, उदयपुर लगायत जिल्लाका कांग्रेस सभापति तथा जिल्ला कार्यसमितिहरू विशेष महाधिवेशनको पक्षमा उभिएका छन्। नेताहरूका अनुसार हालसम्म ३० भन्दा बढी जिल्ला सभापतिले सार्वजनिक रूपमै विशेष महाधिवेशनको समर्थन जनाइसकेका छन्।

कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठ, कास्कीका सभापति किशोरदत्त बराल, सिन्धुपाल्चोकका सभापति जंगबहादुर लामा, उदयपुरका सभापति हिमाल कार्कीलगायतले विशेष महाधिवेशनलाई पार्टी सुदृढीकरण, वैचारिक स्पष्टता र आन्तरिक लोकतन्त्र पुनर्जीवित गर्ने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन्।

जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले जारी गरेको अपिलमा वर्तमान जटिल राजनीतिक परिस्थितिमा कांग्रेसलाई थप गतिशील, सुदृढ र जनभावनाअनुकूल बनाउन समसामयिक नीति, नेतृत्व र कार्यदिशाबारे निर्णय लिन विशेष महाधिवेशन अपरिहार्य भएको उल्लेख गरिएको छ। काभ्रेले पुस २७ गते बिहान पुतलीसडकको पद्मोदय मोडमा भेला भई विशाल र्‍यालीसहित भृकुटीमण्डपतर्फ जाने कार्यक्रमसमेत सार्वजनिक गरेको छ।

यस्तै, जिल्ला कार्यसमिति ललितपुरले संविधान, राजनीतिक दलसम्बन्धी ऐन र पार्टी विधानअनुसार ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई विधिसम्मत रूपमा सम्बोधन गरिएको भन्दै महामन्त्रीद्वय थापा र शर्माप्रति आभार व्यक्त गरेको छ। ललितपुर कांग्रेसले उद्घाटन सत्रका दिन बाजागाजासहित कुपण्डोल–हनुमानस्थानबाट र्‍याली आयोजना गर्ने जनाएको छ।

कास्की, धनकुटा, बाँके र सिन्धुपाल्चोक जिल्ला कार्यसमितिहरूले पनि विशेष महाधिवेशनलाई पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता र आन्तरिक लोकतन्त्र सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा चित्रण गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई अनिवार्य र सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्।

विशेष महाधिवेशन यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ। तर पार्टी सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका अधिकांश नेताहरूले विशेष महाधिवेशनको औचित्य नरहेको दाबी गर्दै आएका छन्। संस्थापन पक्षले नियमित महाधिवेशनको समय नजिकिँदै गएको र विशेष महाधिवेशनले पार्टीलाई थप विभाजनतर्फ लैजाने तर्क गर्दै आएको छ।

यसैबीच, नेता शेखर कोइरालाले विशेष महाधिवेशनलाई ‘संकल्प महाधिवेशन’का रूपमा रूपान्तरण गर्न सभापति देउवालाई आग्रह गरेका छन्। उनले विशेष महाधिवेशनलाई व्यक्ति केन्द्रित बहसभन्दा माथि उठाएर पार्टी सुधार र भावी राजनीतिक कार्यदिशामा केन्द्रित गर्नुपर्ने धारणा राखेका छन्।

विशेष महाधिवेशनका लागि देशभरबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आउने क्रम सुरु भइसकेको छ। स्मरणीय छ, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहित विशेष महाधिवेशनको माग बुझाएका थिए। तर त्यसपछि हस्ताक्षर सनाखतलगायत प्रक्रिया अघि नबढेपछि महामन्त्रीद्वय थापा र शर्माले पार्टी विधानअनुसार विशेष महाधिवेशन बाध्यकारी भएको निष्कर्षसहित आह्वान गरेका हुन्।

पार्टी विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने स्पष्ट व्यवस्था छ। यही व्यवस्थालाई आधार मानेर विशेष महाधिवेशनको बहस कांग्रेसभित्र निर्णायक मोडमा पुगेको छ।

प्रतिकृया दिनुहोस्