×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन

विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन

कोरोना संक्रमणले ४४ वर्षकै उमेरमा देशको एक आशालाग्दो व्यक्तिलाई लगेको छ । धेरै आशा र भरोसा गरिएका राजनीतिका आदर्श पात्रको रुपमा परिचित विवेकशील नेपालीका संस्थापक संयोजक उज्ज्वल थापाको मंगलबार उपचारकै क्रममा काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको छ ।

कोरोना संक्रमण भएपछि थापालाई निमोनिया देखिएको थियो । निमोनिया देखिएसँगै उनको अवस्था नाजुक बन्दै गएको थियो । थापाको सोमबार कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना नेगेटिभ आएसँगै सबैले उनको स्वास्थ्य सुधार हुने अपेक्षा गरेका थिए ।

तर, कोरोना जितेको खुशीको खबर सुनेको २४ घन्टा नबित्दै थापाले संसार छोडे । थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा पनि उपचार गरिएको थियो । अवस्थामा कुनै सुधार नआएपछि मेडिसिटी भर्ना गरिएको थियो ।

उनी दुई सातादेखि उपचाररत थिए । उनी विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष पनि हुन् । थापाको उपचारका लागि २४ घन्टामा ५० लाख भन्दा बढी आर्थिक संकलन भएको थियो ।

उपचारका लागि सार्वजनिक रूपमा आर्थिक सहायता अपिल गर्दा छोटो समयमै यत्रो ठूलो रकम उठ्नुले उनको लोकप्रियता र उनी प्रतिको जनताको विश्वासलाई झल्काउँछ । 

थापाको व्यक्तित्व पनि सरल र शालिन थियो । उनी कुनै तामझाम गर्थेनन् । उनी अनावश्यक रुपमा पनि बोल्दैन थिए । उनमा धेरै राजनीतिक महत्वाकांक्षा र आडम्बर थिएन । उनी राजनीतिक जीवनमा रहेर पनि कहिले तल्लो स्तरमा झरेर कसैको टिप्पणी गरेनन् । 

तर, उनमा राजनीतिमा एउटा वैकल्पिक धार हुनुपर्छ भन्ने मान्यता थियो । उनी त्यही सोचलाई स्थापित गराउन लागि परेका थिए । पार्टीमा रहँदा पनि उनले कहिले पदलोलुपता देखाएनन् । कहिले सस्तो प्रचारवाजीको पछि लागेनन् । उनले बरु आन्दोलनलाई सालिन रुपमा प्रस्तुत गर्न सकिन्छ भन्ने मान्यतालाई स्थापित गरिदिए ।

पहिले नेपाली राजनीतिमा युवाहरू ढुंगामुडामा उत्रिन्थे । तर, विवेकशील पार्टी स्थापना भइसकेपछि उनले युवा आन्दोलनको धार फेरियो । उनको नेतृत्वमा गोलबन्ध भएका युवाहरू रचनात्मक नारासहितका पप्लेट बोक्दै आन्दोलनमा उत्रिन थाले । मिठा तर चोटिला मागसहितका नाराले सबैको ध्यान खिचिन थाल्यो । अहिले नेपाली राजनीतिक आन्दोलनमा लगभग त्यो परिपाटी स्थापित नै भइसकेको छ भन्दा अतिउक्ति नहोला ।

उनले जीवनमा पैसा कमाउन सकेनन् होला । धुर्त्याइको राजनीति गरेनन् होला । तर, मान्छे कमाए । धेरैको मनमा बस्न सफल भए । जसले गर्दा उनको उच्च सोचलाई नेपाली जनताले पनि सम्मान गरेको कुरा उनको उपचारमै प्रदान गरेको सहयोगले देखाउँछ । उनी हामीमाझ नरहे पनि उनले देखाएको मार्ग भने कायमै छ । विवेकशील साझाले त्यो मार्गलाई कति आत्मसाथ गर्छ ? त्यो भने समयले नै देखाउँला । अलविदा उज्ज्वल थापा ।

प्रतिकृया दिनुहोस्