बाँके- बाँकेका सिख समुदाय ३२३औँ खाल्सा साजना दिवस एवं वैशाखी पर्वको तयारीमा जुटेका छन् । विगतका वर्षमा कोरोना महामारीका कारण प्रभावित बनेको वैशाखी पर्व यो वर्ष धूमधामका साथ मनाउने तयारी भइरहेको नेपालगञ्जको गुरुद्वारा गुरु नानकसिंह सभाका प्रधान राजेन्द्रसिंह सरदारले बताए ।
उनका अनुसार वैशाखी पर्वका अवसरमा वैशाख २ गते भण्डारासहित प्रवचन र ३ गते नेपालगञ्जमा शोभायात्रा निकाल्नुका साथै मार्सल आर्ट देखाइने छ । “वैशाखी पर्व भनेको स्थापना दिवस हो । यसलाई हामीले भव्यताका साथ मनाउने गरेका छौँ । यसवर्ष पनि मनाउँछौँ”, सभाका प्रधान सरदारले भने ।
बाँकेमा करिब सात हजार आसपासमा सिख छन् । बाँकेको डुडुवा गाउँपालिका–६ सिख्खनपूर्वा, नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह र जानकी गाउँपालिकाको वडा नं २ वनकटवामा सिख समुदाय छरिएर रहेका छन् ।
नेपालमा २५ हजारभन्दा बढी सिख छन् । आफ्नो धर्म र रीतिरिवाजका बारेमा जानकारी दिन पर्व मनाउने गरिएको गुरुद्वारा नानकसिंह सभाका प्रधान सरदारले बताए ।