काठमाडौं - झापाको गौरीगन्ज गाउँपालिकाको अध्यक्षमा दुवै महिला निर्वाचित भएका छन्। आइतबार राति आएको अन्तिम नतिजाअनुसार अध्यक्षमा नेपाली कांग्रेसकी फूलवती राजवंशी र उपाध्यक्षमा नेकपा एमालेकी पुजन न्यौपाने कुँवर विजयी भएका हुन्। झापाका १५ पालिकामध्ये अध्यक्ष र उपाध्यक्ष नै महिला निर्वाचित भएको यो पहिलो पालिका हो ।
राजवंशीले पाँच हजार ६८९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका विजयकुमार अग्रवालले तीन हजार ३३० मत प्राप्त गरे । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार रहनुभएका बाबुराजा श्रेष्ठले तीन हजार ३०७ मत प्राप्त गरे । अघिल्लो निर्वाचनमा श्रेष्ठ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए भने यसपटक राजवंशीले श्रेष्ठलाई पराजित गरे ।
उपाध्यक्षमा निर्वाचित कुँवरले चार हजार ७५५ मत प्राप्त गरे । उनले काँग्रेसका उम्मेदवार मखना महतोलाई पराजित गरे । महतोले तीन हजार ७९५ मत प्राप्त गरेका थिए ।