काठमाडौं- आइतबारबाट सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (सोमबार) दोस्रो दिन पनि जारी छ । काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा बसिरहेको बैठमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको १० पन्ने राजनीतिक प्रतिवेदनमा खुला छलफल हुँदै छ ।
प्रचण्डले केन्द्रीय सदस्यहरुलाई खुला छलफलबाट आफ्नो धारणा राख्न आह्वान गरेका छन् । त्यसमा प्रचण्डले आफ्नो धारणा राख्न केन्द्रीय समिति सदस्यहरुलाई २ मिनेटको समय दिएका छन् । उनले प्रतिवेदन संक्षिप्त भएकाले समूहगत छलफल नहुने बताएका छन् । प्रचण्डको प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका केही नयाँ सन्दर्भ उल्लेख गरिएको छ । यस्तै वर्तमान घरेलु परिस्थिति, स्थानीय तह निर्वाचनको विश्लेषण, गठबन्धनको समीक्षा पनि संक्षेपमा गरिएको छ । यस्तै प्रचण्डले प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीका रणनीति तथा तयारीका विषय पनि उल्लेख गरेका छन् ।