जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलेको राजीनामा माग गरेको छ । प्रदेशसभामा पोखरेलले बहुमत गुमाइसकेको भन्दै जसपाले राजीनामा माग गरेको हो ।
जसपाबाट राज्यमन्त्री बनेकी सुमन रायमाझी शर्माले राजीनामा दिएपछि पोखरेल सरकार अल्पमतमा परेको जसपाको तर्क छ ।
८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका ३८ सदस्य छन् । रायमाझीसहित जसपाका चार सांसदको समर्थनमा ४२ सांसद जुटाएर मुख्यमन्त्री पोखरेलले बहुमत पुर्याएका थिए ।
यता, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चासहितको विपक्षी गठबन्धनसँग ४० सांसद थियो ।
रायमाझीले राज्यमन्त्री पदबाट राजीनामा दिएर जसपा अध्यक्ष उपेन्द्र यादव पक्षमा फर्किने निर्णय गरेसँग लुम्बिनीमा सत्तापक्ष र विपक्षी गठबन्धनको समान ४१ / ४१ सांसद भएको छ ।
जबकि सरकार बनाउन बहुमतको संख्या ४२ चाहिन्छ ।
सरकारसँग बहुमत नरहेको भन्दै जसपा कार्यकारिणी सदस्य इस्तियाक राईले मुख्यमन्त्री पोखरेललाई तत्काल राजीनमा दिनुपर्ने बताएका छन् ।
हुनत केहि दिनअघि प्रदेशसभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेल आफैंले बहुमत गुमेकै दिन पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।
‘संसदभित्रको राजनीतिक गणितलाई म विश्वास गर्छु । म अराजनीतिक तरिकामा विश्वास गर्दिनँ,’ प्रदेशसभा बैठकमा पोखरेलले भनेका थिए,‘राजनीतिक रूपमा जबसम्म सत्ता पक्षसँग बहुमत रहन्छ त्यतिबेलासम्म मुख्यमन्त्रीको हैसियतमा रहन्छ । बहुमत गुम्यो भने स्वभाविक रूपमा म एक मिनेटपनि सत्तामा रहन हुन्न लाग्छ मलाई।’
प्रदेशसभामा पोखरेलले व्यक्त गरेको प्रसङ कोट्याउँदै जसपा नेता राईले राजीनामा माग गरेका छन् ।
‘मुख्यमन्त्रीज्यू तपाईंले प्रदेश संसदमा बहुमत गुम्यो भने अराजनीतिक हिसाबले १ मिनेट पदमा बस्दिनँ राजीनामा दिन्छु भन्नु भएको थियो । तर, तपाईंको बहुमत गुमेको दुई दिन भयो। अराजनीतिक हिसाबसम्म पदमै बस्नु भएको छ,’ सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्,‘लाज लाग्दैन कथनी र करणीमा फरक हुन्छ । सिको नेताकै गर्छन् ।’
विपक्षी गठबन्धनले वैशाख ६ गते मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको थियो । अविश्वास प्रस्तावमा रायमाझीसहित जसपाका सबै ६ प्रदेश सांसदले हस्ताक्षर गरेका थिए ।
तर, हस्ताक्षर गरेको केहीबेर नबित्दै रायमाझीसहित जसपाका ४ सांसद पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका थिए ।
सपाका ४ सांसदको साथ पाएपछि पोखरेल बहुमत पुर्याएर सरकार जोगाउन सफल भएका थिए ।
तर, रायमाझीले शुक्रबार राज्यमन्त्रीबाट राजीनामा दिएर विपक्षी गठबन्धनको कित्तामा बस्ने घोषणा गरेपछि पाखेरेललाई असार १ गते प्रदेशसभामा प्रस्तुत भएको बजेट पारित गराउन पनि चुनौती थपिएको छ ।
बजेट पारित गराउन उनलाई ४२ सांसदको समर्थन जरूरी हुन्छ । तर, तत्काल पाखरेलसँग जम्मा ४१ सांसदमात्र छन् ।
बजेट पारित गराउन असफल भएपछि नैतिकताको आधारमा पोखरेलले राजीनामा दिनुपर्ने विपक्षी गठबन्धनको तर्क छ ।
जसपा संसदीय दलका नेता सहसराम यादव बजेट पारित हुने सम्भावना नरहेको दाबी गर्छन् ।
बजेट पारित हुन नसकेको अवस्थामा मुख्यमन्त्रीले पदबाट राजीनामा दिनुको विकल्प नरहने उनको भनाइ छ ।