काठमाडौं- रेडियो नेपालका उदयपुर संवाददाता गजेन्द्र राई साइबर क्राइम मुद्दामा पक्राउ परेका छन। एक महिलाको व्यक्तिगत सम्बन्धको बारेमा सामग्री बनाई युट्यूबमालगायत सामाजिक सञ्जालमा राखेको आरोपमा उदयपुर प्रहरीले उनलाई शनिबार साँझ पक्राउ गरेको हो।
पीडित महिलाको उजुरी तथा काठमाडौं जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीको आधारमा राईलाई पक्राउ गरिएको उदयपुरका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए।
एसपी फुयाँलका अनुसार राईले गत साउनमा आफ्नो युट्यूब च्यानलबाट एक महिलाको चरित्र हत्या गर्ने गरी सामग्री प्रसारण गरेका थिए। सामाजिक नैतिकता विरुद्धको कार्य गरेको भनी दिएको उजुरीको आधारमा पक्राउ गरी उनलाई साइबर ब्यूरो काठमाडौं पठाइएको प्रहरीले बतायो।
शनिबार साँझ उदयपुर सदरमुकामा गाईघाटबाट पक्राउ परेका राईलाई आइतबार काठमाडाैं जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ। राई रेडियो नेपाल उदयपुर संवाददाता, प्रेस सेन्टरका प्रदेश सचिव र फोटो पत्रकार महासंघको केन्द्रीय सचिवको जिम्मेवारीमा छन्।