काठमाडौं - रामबहादुर थापा बादलले पुनः गृहमन्त्री पदको सपथ लिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज थापालाई पुनर्नियुक्ति गरेसँगै पद तथा गोपनियताको सपथ दिलाएकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८० बमोजिम नवनियुक्त मन्त्री थापालाई पद तथा गोपनीयताको सपथ दिलाएका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएकाे छ, ‘नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीज्यूको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापालाई मन्त्रीपदमा नियुक्ति गरी गृह मन्त्रालयको कार्यभार तोक्नु भएको छ ।’
आजै बादल राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्री पदबाट पदमुक्त भएलगत्तै बादललाई प्रधानमन्त्री ओलीले गृहमन्त्रीमा पुनर्नियुक्तका लागि राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेका थिए।
नेपालको संवैधानिक व्यवस्थाअनुसार सांसद नभएका व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन सक्छन् । सोहि व्यवस्था अनुसार बादल ६ महिनाको लागि पुनः गृहमन्त्री बनेका हुन् ।