काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदका निर्णयबारे आफूलाई नियमित रुपमा जानकारी नगराइएको भनी असन्तुष्टि व्यक्त गरेकी छन्। राष्ट्रपति कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्र पठाएरै ‘मन्त्रिपरिषद बैठकको निर्णयबारे नियमित रुपमा जानकारी नगराइएको’ मा असन्तुष्टि व्यक्त गरेको हो।
‘मन्त्रिपरिषदबाट हुने निर्णयबारे यहाँबाट नियमित जानकारी गराइएन भन्ने राष्ट्रपतिको गुनासो रहेछ, त्यही अनुसार राष्ट्रपतिको कार्यालयले पत्र पठाएर चासो देखाएको हो’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय उच्च स्रोतले भन्यो, ‘त्यो पत्र मुख्य सचिवज्यूसमक्ष पेश भएपछि के गर्ने टुंगो लाग्नेछ, तर अहिले मुख्य सचिवज्यू विरामी भएर अस्पताल भर्ना भएकाले पत्र अघि बढेको छैन।’
राष्ट्रपति कार्यालयका प्रेस विज्ञ टीका ढकालका अनुसार, संविधानको धारा ८१ मा भएको विषयवस्तुबारे राष्ट्रपति कार्यालयले चासो दिएको हो। उक्त धारामा पाँचवटा विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउने व्यवस्था छ । पहिलो मन्त्रिपरिषदका निर्णय, दोस्रो संघीय संसदमा पेश गरिने विधेयकवारे प्रधानमन्त्रीले राष्ट्रपतिलाई अवगत गराउनुपर्छ।
संवैधानिक व्यवस्था अनुसार, राष्ट्रपतिले यी दुई विषयमा अरु विवरण मागेमा त्यो पनि प्रधानमन्त्रीले जानकारी गराउनुपर्छ।
चौथो, नेपालको समसामयिक परिस्थितिबारे समेत राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने पाँचौं विषय, वैदेशिक सम्बन्ध सम्बन्धी हो।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार, नागरिकता विधेयकबारेको निर्णय आफूलाई जानकारी नै नगराई संघीय संसदमा पेश भएको भएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री देउवासँग असन्तुष्ट थिइन्। सरकारले संघीय संसदमा पेश गर्ने हरेक विधेयक मन्त्रिपरिषद बैठकबाट निर्णय गर्नुपर्छ। त्यसमाथि संघीय संसदमा पेश हुने विधेयकबारे सूचित हुन पाउने संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति भण्डारीको असन्तुष्टि बढेको हो।