काठमाडौं - बिहानको एउटा साधारण कफी भेटघाट। सहरको एउटा क्याफेमा तीन युवा बसेर गफिँदै थिए। कुराकानीकै क्रममा एउटा प्रश्न उब्जियो– "हामी अरूको पर्खाइ किन गरिरहेका छौँ?"
त्यो संवाद सुरु भएको केही मिनेटमै उनीहरूले आफ्नो जीवनको एउटा निर्णायक मोड लिने अठोट गरे। त्यही बिहानको भेटले ती तीन युवाको जीवनको दिशा मात्र बदलिएन, एउटा नयाँ सामाजिक अभियानको बीउ पनि रोपियो। ती युवाहरू थिए– सुजित कुमार चौधरी, प्रज्वल भट्टराई र प्रदीप गिरी। अरूको पर्खाइ नगर्ने र आफैँ अवसर सिर्जना गर्ने अठोटका साथ जन्मियो– 'क्रिएटिङ अपर्चुनिटीज इन्टरनेसनल' (COI)। यो त्यस्तो अभियान हो, जसले आज हजारौँ युवाको जीवनमा सकारात्मक परिवर्तन ल्याइसकेको छ।
संघर्षबाट जन्मिएको सपना
महोत्तरी जिल्लाको सीमावर्ती सानो गाउँ गौशालाको हिलो र कच्ची बाटोमा सुजित कुमार चौधरीले आफ्नो बाल्यकाल बिताए। सीमित स्रोत-साधनका बीच हुर्किए पनि उनका सपनाहरू विशाल थिए। मिथिला भूमिको यो छोराले सानैमा एउटा पाठ सिक्यो– "सानो ठाउँमा पाएको जस्तोसुकै मौका पनि बहुमूल्य हुन्छ।" गाउँका क्लब र विद्यालयका साना कार्यक्रमबाट सुरु भएको उनको यात्रा काठमाडौँसम्म आइपुग्यो।
काठमाडौँमा उनलाई चुनौतीहरूको पहाडले स्वागत गर्यो। न भाषा सहज थियो, न आर्थिक अवस्था। पटक-पटकको असफलता र 'अस्वीकृति'ले उनलाई अझ बलियो बनायो। साना भर्चुअल कार्यक्रमबाट सुरु गरेर उनले अन्तर्राष्ट्रिय सम्मेलनहरूको सफल संयोजनसम्मको यात्रा तय गरे। हाल उनी त्रि-वि अन्तर्गत पाटन क्याम्पसमा कम्प्युटर विज्ञान (CSIT) अध्ययन गर्दै प्राविधिक ज्ञानलाई सामाजिक सेवामा जोडिरहेका छन्। उनी भन्छन्, "म मौकाको पर्खाइमा थिएँ, तर पछि आफैँ अवसर बनाउने निर्णय गरेँ।"
क्षमता देखाउने अभियान
यही समयमा प्रज्वल भट्टराई अर्को ऊर्जावान् पात्रका रूपमा उदाउँदै थिए। प्रज्वलले नेतृत्व गरेको 'स्कोलास्टिक फाउन्डेसन नेपाल'ले युवासशक्तीकरण र दिगो विकास लक्ष्य (SDG) मा गहिरो प्रभाव जमाइसकेको थियो। शिक्षाको शक्तिमा विश्वास गर्ने प्रज्वलले नेपाल सरकारबाट 'शिक्षा ज्योति पदक' र अन्तर्राष्ट्रिय स्तरमा 'एशिया प्यासिफिक लुमिनरी अवार्ड' समेत प्राप्त गरिसकेका छन्। प्रज्वलको एउटै मूल मन्त्र छ, "हामी सीभी (CV) बनाउने होइन, क्षमता देखाउने अभियानमा छौँ।"
प्रदीप गिरीको दार्शनिक मार्गदर्शन
यो अभियानमा स्वर्गीय प्रदीप गिरीको अर्थपूर्ण सहभागिताले थप उचाइ थप्यो। उहाँको सादगी, विवेक र युवाप्रतिको अटुट विश्वासले COI लाई एउटा वैचारिक धरातल प्रदान गर्यो। उहाँ सधैँ भन्नुहुन्थ्यो, "सपना ठूलो राख, तर पाइलालाई जमिनमा राख।" सुजितले योजना बनाउने, प्रज्वलले रणनीतिक विस्तार गर्ने र प्रदीप गिरीले त्यसमा दार्शनिक गहिराइ थप्ने काम गरे। उहाँको विचारले युवालाई अवसर खोज्ने मात्र होइन, अवसर सिर्जना गर्ने शक्ति बन्न प्रेरित गर्यो।
COI: एक आन्दोलन
आज 'क्रिएटिङ अपर्चुनिटीज इन्टरनेसनल' (COI) केवल एउटा संस्था मात्र रहेन, यो एउटा आन्दोलन बनेको छ। यसले छात्रवृत्ति, फेलोसिप, इन्टर्नसिप र रोजगारीका विश्वभरका अवसरहरूलाई एउटै प्लेटफर्ममा समेटेर गाउँ-गाउँका युवासम्म पुर्याएको छ।
छोटो समयमै यसले:
शिक्षामा नवीन प्रयोग
COI ले विद्यालय सुधारका लागि 'शैक्षिक पात्रो तथा विद्यालय सुधार उपकरण' सार्वजनिक गरेको छ। आईएसओ २१००१ (ISO 21001) मापदण्डमा आधारित यो उपकरणले विद्यालयको गुणस्तर सुधार्न र विद्यार्थीमा नेतृत्व विकास गर्न मद्दत पुर्याउँछ। त्यस्तै, संस्थाले 'मर्चेन्डाइज मोडेल' (टी-शर्ट, डायरी बिक्री) मार्फत संकलित रकम सिधै 'अवसर निर्माण कोष'मा जम्मा गर्ने नवीन अभ्यास सुरु गरेको छ।
सुजित र प्रज्वलको यो यात्रा सहकार्य, धैर्य र दृढताको ज्वलन्त उदाहरण हो। जब सपनालाई अठोट र साहसले सिञ्चित गरिन्छ, तब असम्भवका पर्खालहरू भत्किन्छन् र अवसरको सूर्य उदाउँछ। यो अभियानले नयाँ पुस्तालाई एउटै सन्देश दिइरहेको छ– "अवसर कसैले दिने चिज होइन, यो त आफैँले सिर्जना गर्ने शक्ति हो।"