काठमाडौँ -पछिल्लो समय पुँजी बजारमा महिला लगानीकर्ताहरूको आकर्षण बढेको छ। अनलाइनमार्फत शेयर खरिद विक्री गर्न सकिने भएपछि उनीहरूको आकर्षण बढेको बताइन्छ ।शेयर बजारमा रमाइरहेका महिलाहरू अन्य क्षेत्रले भन्दा यस क्षेत्रले आफूलाई आर्थिक रूपमा अब्बल बनाएको अनुभव सुनाउँछन्।
कुनै पनि उमेर वा पृष्ठभूमिको व्यक्तिले निर्बाध रूपमा जहाँ रहेर पनि शेयरसम्बन्धी कारोबार गर्न सकिने भएपछि शेयर बजारमा महिला उपस्थिति बढेको तथ्याङ्कले समेत देखाएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडका सुरेश न्यौपाने बताउँछन्।उनका अनुसार नेपालमा हाल करिब ४५ लाख ४७ हजारको डिम्याट खाता रहेको र त्यसमध्ये करिब १८ लाख ३७ हजार खातावाल महिला छन्।
आर्थिक वर्ष ७६/७७ मा कुल खातावालमध्ये ३८.६ प्रतिशत महिलाको नाममा थियो भने ७७/७८ बढेर ४१.८२ प्रतिशत र चालू आवको पछिल्लो दुई महिनामा यो क्रम बढेर ४२.२५ प्रतिशत पुगेको छ।मेरो शेयर खातामा पनि करिब ४५ प्रतिशत खाता महिलाको नाममा रहेको बताइन्छ। बीबीसी