एमालेभित्रको विवाद समाधान गरेर अगाडि बढ्न पार्टी नेतृत्व तयार रहेको भन्दै नेता खगराज अधिकारीले प्रधानमन्त्रीबाट अध्यक्ष केपी ओलीलाई फाल्ने कुरा असम्भव रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान अन्तर्वार्ताका क्रममा एमालेका नेता अधिकारीले पार्टीको समस्या मिलाउन शीर्ष नेतृत्व जिम्मेवार ढंगले काम गरिरहेको बताए । उनले असन्तुष्ट समूहको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पार्टीले गरेका निर्णयलाई स्वीकार गरेर आउन आग्रह गरेका छन् ।
पार्टी एकताका नाममा नेपाल समूहले अगाडि बढाएका नाजायज कुरालाई स्वीकार गर्न नसकिने उनले चेतावनी दिएका छन् । नेता अधिकारीले अहिलेका लागि ओलीनै प्रधानमन्त्री रहेको बताए । उनले प्रधानमन्त्री फेर्ने अवस्थामा नरहेको बताएका छन् ।
‘माधव नेपाललाई प्रधानमन्त्री चाहियो भनेर हुन्छ र ? उहाँ त शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हिँडेको मान्छे’, उनले भने, ‘ओली संसदीय दलको नेता हो । पार्टीको अध्यक्ष हो । अहिले ओलीले प्रधानमन्त्री छाड्ने कुरा छैन ।’
माधव नेपाललाई एमालेको ओली समूहबाट प्रधानमन्त्री पदका लागि अफर आएको भनेर समाचार बाहिर सार्वजनिक भइरहेका बेला ओलीका विश्वासपात्र मानिने नेता अधिकारीले नेपाललाई प्रधानमन्त्री पद दिन नसकिने बताएका छन् ।