काठमाडौं । सामाजिक पछौटेपनको प्रतीकका रूपमा रहेको दाइजो प्रथालाई जरैदेखि उन्मूलन गर्ने उद्देश्यका साथ पद्मकन्या बहुमुखी क्याम्पसमा एक विशेष अभियानको सुरुवात गरिएको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा आयोजित उक्त कार्यक्रममा "दाइजो प्रथा अन्त्यको लागि कल्कि कानुन" भन्ने मूल सङ्कल्पका साथ विद्यार्थीहरूले सामूहिक ऐक्यबद्धता जनाएका छन्।
दाइजो मुक्त नेपाल बनाउनु हामी सबै नेपालीको साझा उद्देश्य हुनुपर्ने सन्देशसहित आयोजित यस कार्यक्रममा अभिनेत्री तथा राजनीतिक विश्लेषक रेखा थापाले मुख्य वक्ताको रूपमा सम्बोधन गर्नुभएको थियो। उहाँले सामाजिक विकृति विरुद्ध युवाहरूको सक्रियताले मात्र कानुनको कार्यान्वयन प्रभावकारी हुने धारणा राख्नुभयो।
त्यस्तै, पूर्व राष्ट्रिय योजना आयोगकी वरिष्ठ सल्लाहकार पञ्चकुमारी मानन्धर, कल्कि जम रिसर्च सेन्टरका अध्यक्ष डा. उमाशंकर प्रसाद, र फाउन्डर जयसाह लगायतका अतिथिहरूले कार्यक्रममा आफ्नो विचार राख्दै विद्यार्थीहरूलाई सशक्त बनाउनुभएको थियो।
शुक्रबार बिहान ७:३० बजेदेखि क्याम्पस परिसरमा सुरु भएको उक्त कार्यक्रममा विद्यार्थीहरूको उल्लेख्य र उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरूले दाइजो नलिने र नदिने संकल्प गर्दै यो अभियानलाई घर-घरसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।