×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फोहोर नै व्यबसाय लाखौ आम्दानी

फोहोर नै व्यबसाय लाखौ आम्दानी

काठमाडौं- बजारबाट सामान किनेर ल्याएका प्लास्टिकका झोलालाई गाउँघरमा प्रायः आगो सल्काउन प्रयोग गर्ने गरिन्छ । सहरबजारमा फोहोर संकलकले लिएर जान्छन् । धेरैले प्लास्टिकका झोलालाई फोहोरको रूपमा लिने गरेका छन् ।

तर बनेपा–७ की निरु ताम्राकार बैदारले भने यसलाई आम्दानीको स्रोत बनाएकी छन् । प्लास्टिकका झोला बटुलेर राख्छिन् । त्यसबाट सजावटको सामग्री बनाउने गरेकी छिन् । प्लास्टिकका झोलालाई उनले फूलका गुच्छा बनाउँछिन् ।


उनले बुनेका फूल सजावटका सामग्री विभिन्न संघसंस्थाले किनेर लैजाने र सजाएर राख्ने गरेका छन् । ‘संघसंस्थाहरूले यस्ता सामग्रीको प्रयोग गर्दा हामीलाई हौसला मिलेको छ,’ उनले भनिन्, ‘प्लास्टिकलाई फाल्नुको सट्टा सीपसँग जोड्दा आम्दानी लिन सकिन्छ । फोहोर व्यवस्थापनमा पनि सहयोग गर्छ ।’

तालिम लिएर यसरी सीप सिकेको उनले बताइन् । ‘फेसबुकमा एक जना म्यामले प्लास्टिकको झोलाबाट फूल बनाएर राख्नुभएको रहेछ,’ उनले भनिन्, ‘त्यो देखेर मलाई पनि बनाउने रहर भयो, म्यामसँग सम्पर्क गरें, तालिम लिने इच्छा राखें, पाँच दिनको तालिम दिनुभयो, त्यसपछि काम सुरु गरे ।’

यो सीप अहिले उनीसँगै बनेपाका ५० भन्दा बढी महिलासँग छ । निरुले आफूले सिकेको सीप अन्य महिला दिदीबहिनीलाई पनि सिकाउने गरेकी छिन् । ‘यो सीप हामीलाई धेरै आवश्यक छ, यसले महिलाहरूलाई आत्मनिर्भर बनाउनुको साथै फोहोर व्यवस्थापनमा पनि सहयोग गर्नेछ,’ उनले भनिन्, ‘यो सीप जान्नेलाई धेरै सजिलो छ, घरमै बसेर काम गर्न सकिन्छ, सामान खोज्न टाढा जानै पर्दैन, केही सामान आफ्नै घर र भान्सामा हुन्छन् भने केही किनेर पनि ल्याउनुपर्छ ।’

फूल बनाउन प्रयोग हुने सामानको विधिबारे बताउँदै उनले भनिन्, ‘फूल बनाउन डाँठको लागि ढलान तयारको प्रयोग गरिन्छ, फूलको आकारको लागि प्लास्टिकका झोला, ग्रिन टेप, रेडीमेड पात, गोल्डन वायर, धागो, पेप्सिनको प्रयोग गरेर आकर्षक फूलको गुच्छा बनाउन सकिन्छ ।’

यी साम्रगीमा धेरै लगानी गर्न नपर्ने हुँदा यसबाट राम्रै आम्दानी गर्न सकिने उनले बताइन् । एक १ हजार रुपैयाँको लगानी पर्याप्त सामग्री जुट्ने फूलका गुच्छा तयार गर्न सकिन्छ । एउटा फूलको गुच्छा २ सयदेखि २५० रुपैयाँसम्ममा बिक्री हुने गरेको सुनाइन् । ‘सामग्री तयार भयो भने यो बनाउन धेरै समय पनि लाग्दैन,’ उनले भनिन्, ‘दिनमा ३० देखि ४० वटा गुच्छा फूल तयार गर्न सकिन्छ ।’

बनेपा–७ गोदामचोककी सुनिता वैद्यले लकडाउनमा सिकेको सीप हो, जिन्सका झोला, चप्पल, पर्स, मेकअप बक्स आदि बनाउँछिन् । पुराना जिन्सका कपडाबाट यस्ता सामग्री बनाउने सीप युट्युब हेरेरै सिकेकी हुन् । सिलाइसम्बन्धी सीप भएकाले एक पटक हेर्दैमा यी सामग्री बनाउन सकिएको उनले बताइन् । अहिले व्यवसायिक बनाएकी छिन् । ‘सिलाइसम्बन्धी सीप हुनेलाई यो बनाउन धेरै समय लाग्दैन,’ उनले भनिन्, ‘यसबाट राम्रो फाइदा लिन सकिन्छ ।’ घरमै बसेर गरिने काम भएकाले यसबाट राम्रो आम्दानी गर्न सकिन्छ ।
 

प्रतिकृया दिनुहोस्