काठमाडाैँ- नेपाली काँग्रेसले स्थानीय तहमा उठेका विद्रोही उम्मेदवारहरू गठबन्धनको निर्णयअनुसारको आधिकारिक उम्मेदवारको पक्षमा आउने विश्वास व्यक्त गरेको छ ।
काँग्रेस स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै केही स्थानमा बाहेक अन्य स्थानमा गठबन्धन सफल भएको भन्दै विद्रोही उम्मेदवारहरू गठबन्धनको पक्षमा नै आउने जनाएको हो ।
पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महत्तले तालमेल गर्ने ठाउँमा पार्टीको निर्णय स्वीकार गरेर जिम्मेवारीपूर्ण तरिकाबाट उम्मेदवारी मनोनयन दर्ता भएको बताए । कतिपय ठाउँमा समझदारी र पार्टीको निर्देशन विपरीत उम्मेदवारी नदिन अनुरोध गरिएको उनले बताए ।
प्रवक्ता महतले देशभरका स्थानीय तहमा काँग्रेसका तर्फबाट ३० हजार ६ सय २८ पदमा उम्मेदवारी दिएको जानकारी दिए । उनले काँग्रेस आचार सहितभित्र बसेको तर एमालेले आचारसंहिता विपरीत काम गर्दा निर्वाचन आयोग मौन बसेको भन्दै आयोगको ध्यानाकर्षण गराउने बताए ।
उनले मुलुकको समृद्धि र विधिको शासन अनुसार सबै दल चल्नुपर्ने बताए । प्रवक्ता महत्तले प्रचार अभियानलाई तीव्र बनाइएको जानकारी दिए ।