काठमाडौं- बहुचर्चित जलविद्युत् बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउन सरकारले पहल थालेको छ । १२ सय मेगावाटको उक्त आयोजनाको निर्माणका लागि सैद्धान्तिक सहमति पाएको चिनियाँ कम्पनी चाइना गेजुवा ग्रूप कर्पोरेशनले काम अघि बढाउन नसकेपछि सरकारले आन्तरिक पूँजीमै बनाउने सम्बन्धमा पहल थालेको बताइएको छ । यसका लागि ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयले आयोजना निर्माणको नयाँ प्रस्ताव अघि बढाएको छ ।
उक्त कम्पनीले आयोजनाको काम अघि बढाउन नसकेपछि सरकारले निर्माणको नयाँ विकल्पमा छलफल थालेको ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालय स्रोतले बताएको छ । ३ खर्ब लागत रहेको सो आयोजना न्यून परिपूरक कोषमार्फत सरकारले करिब ७० अर्ब बेहोर्नेगरी स्वदेशी लगानीमै निर्माण गर्ने मोडलमा छलफल भइरहेको बताइएको छ ।
यसअघि ५ असोज २०७५ को मन्त्रिपरिषद् बैठकले इन्जिनियरिङ, खरीद, निर्माण र लगानी (ईपीसीएफ) मोडेलमा आयोजनाको निर्माण अघि बढाउन उक्त चिनियाँ कम्पनीसँग वार्ता गरी समझदारीपत्रमा हस्ताक्षर गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको थियो । यद्यपि आयोजना निर्माणको जिम्मा पाएको अढाई वर्ष बित्दा समेत खास प्रगति देखिएको छैन ।
उक्त आयोजना अन्तर्गत परेको जग्गाको मुआब्जाका लागि सरकारले .३३ अर्ब ७९ करोड खर्च गरिसकेको छ । आयोजना निर्माणका लागि सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर.१० रुपैयाँ कर उठाउँदै आएको छ ।