काठमाडौं- एसीसी प्रिमियर कपमा आयोजक नेपालले पाहुना टोली मलेसियामाथि शानदार जित हात पारेको छ। टीयू क्रिकेट मैदानमा आजदेखि सुरु भएको खेलमा नेपालले विजयी सुरुवात गरेको हो।
सुरुवाती फिल्डिङ गरेको नेपालले मलेसियालाई ६ विकेटले हराउने क्रममा सन्दीप लामिछाने र सोमपाल कामीले सामान ३–३ विकेट लिए। यस्तै, ललित राजवंशीले २ विकेट लिँदा गुल्शान झाले १ विकेट लिए।
जवाफी ब्याटिङमा आएको नेपालले ८२ खेल बाँकी रहँदै मलेसियामाथि ६ विकेटको शानदार जित हात पारेको हो। यसक्रममा मध्यक्रममा ब्याट्सम्यान कुशल मल्लले विस्फोटक ब्याटिङ गरे। उनले ४० बलमा ५ छक्का र ५ चौकाको मद्दतमा ७० रन बनाए ।
यस्तै, भीम सार्कीले ९८ बल खेल्दै समान ७० रन बनाए । सुरुवाती ब्याटिङमा आएका आसिफ खानले ३ बल खेल्दै १ रन बनाएर पेभेलियन फर्किएपछि नेपाली टोली दबाबमा परेको थियो । तर, ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ३१ बलमा ३८ रन बनाउँदै नेपाललाई लय दिलाएका थिए ।
यस्तै, नेपाललाई शानदार जित दिलाउने क्रममा कप्तान रोहित पौडेलले ४२ र दिपेन्द्रसिंह ऐरीले ५ रन बनाए। टीयू र मुलपानी क्रिकेट रङ्गशालामा हुने यो प्रतियोगिता जितेमा नेपालले एसिया कप खेल्न पाउनेछ ।