×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

विदेशी सम्बन्धनका १६ कलेज नवीकरण नै नगरी सञ्चालनमा

विदेशी सम्बन्धनका १६ कलेज नवीकरण नै नगरी सञ्चालनमा

विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित ८८ मध्ये १६ कलेज नविकरणविना नै सञ्चालन भएको पाइएको छ । ती कलेजलाई नविकरण गर्न शिक्षा मन्त्रालयले २०७६ कात्तिक २१ गते ७ दिनको समय दिएर सूचना प्रकाशित गरेको थियो । तर, हालसम्म नविकरण नभएको र सरकारले कुनै कारवाही नगरी कलेज सञ्चालन भइरहेको महालेखा परीक्षकको ५८ औं प्रतिवेदनले औंल्याएको छ । ती कलेजलाई कारवाही गरी १ करोड ९० लाख रुपैयाँ धरौटी जफत गर्न समेत महालेखाले आग्रह गरेको छ ।

प्रतिवेदनले विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका कलेजहरुको अनुगमन नै नगरी सञ्चालन अनुमति नविकरण गर्ने गरेको पाइएको जनाएको छ ।

कलेजले अनुमति प्राप्त कोटा अनुसार प्रतिविद्यार्थी १ हजार ५ सय रुपैयाँका दरले राजस्व बुझाएर प्रत्येक वर्षको माघ मसान्तभित्र सञ्चालन अनुमति नविकरण गराउनु पर्ने व्यवस्था छ । सञ्चालन अनुमति नविकरण गर्न २०७६/७७ मा ८८ मध्ये ७२ शिक्षण संस्थाले १९ हजार १ सय ६८ विद्यार्थीका लागि निवेदन दिएका थिए । तर, अनुगमन नै नगरी सञ्चालन अनुमति नविकरण गर्दा विद्यार्थी संख्याका आधारमा २ करोड ८७ लाख ५२ हजार रुपैयाँ धरौटी रकम मिलान गर्न नसकेको महालेखाले उल्लेख गरेको छ ।

त्यस्ता कलेजहरुको धरौटी रकमसमेत अपुग भएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार ३६ शिक्षण संस्थाले सञ्चालन अनुमति प्राप्त गर्न राख्नुपर्ने धरौटी रकममा ३ करोड ७५ लाख ५० हजार रुपैयाँ घटी भएको पाइएको छ ।

हाल ८८ कलेजले वाणिज्य बैंकमा आफ्नै नाममा खाता खोली उक्त खातामा २१ करोड १३ लाख रुपैयाँ राखेका छन् । अब त्यस्तो धरौटी रकम सरकारको धरौटी खातामा राख्न नयाँ कानुनी व्यवस्था गर्नुपर्ने समेत महालेखाले बताएको छ ।

त्यस्तै, विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९ ले कुल विद्यार्थी क्षमताको १० प्रशित सीट छात्रवृत्तिका रुपमा नेपाल सरकारालाई उपलब्ध गराउनु पर्ने व्यवस्था छ । उक्त छात्रवृत्तिमा जेहन्दार, विपन्न, महिला, जनजाति, मधेसी, दलित, अपाङ्ग तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई अध्ययनको अवसर उपलब्ध गराउनु पर्ने व्यवस्था छ ।

उक्त व्यवस्था अनुसार विदेशी सम्बन्धनमा सञ्चालित कलेजको कुल १९ हजार १ सय ६८ विद्यार्थीको कोटा मध्ये १० प्रतिशतले हुन आउने १ हजार ९ सय १० जनाले छात्रवृत्ति पाउनु पर्नेमा उक्त छात्रवृत्ति समय कोटाअनुसार नपाएको महालेखाले उल्लेख गरेको छ ।

 

प्रतिकृया दिनुहोस्