काठमाडौं- वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आइतबार ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सो जानकारी गराएका हुन् ।
जोशीको पार्थिव शरीरलाई अहिले अस्पताल परिसरबाट ल्याएर ललितपुर महानगरपालिका परिसरमा राखिएको छ ।जोशीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुर महानगरपालिका परिसरमा पुगेका छन् । देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् ।
जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रियसभा सदस्य बामदेव गौतम, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, कलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न क्षेत्रका व्यक्तित्व र सर्वसाधारण त्यहाँ पुगेका छन् । जोशीको पार्थिक शरीर नजलाउने र अध्ययनका लागि राखिने अस्पतालले जनाएको छ ।