काठमाडौं - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभाका सबै सदस्यहरूलाई बधाई ज्ञापन गरेका छन् । सरकारी निवास बालुवाटारमा शनिबार देउवाले कांग्रेसबाट निर्वाचित सांसदहरूलाई बोलाएका थिए ।
दिउँसो ३ बजे बोलाइएको भेलामा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित ५७ र समानुपातिकबाट निर्वाचित ३२ सांसदहरू सहभागी थिए । भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा सक्रिय भूमिका निभाउन र जनतासँग गरेका बाचा पूरा गर्ने गरी काम गर्न निर्देशन दिए ।
‘तपाईंहरू सबै प्रतिनिधिसभाको सदस्य बन्नुभएको छ र तपाईंहरूले जित्दै गर्दा नेपाली कांग्रेस पनि ठूलो दल बनेको छ, तपाईंहरू सबैलाई बधाई छ,’ सांसद्हरूलाई सम्बोधन गर्दै देउवाले भनेका थिए ।
सभापति देउवाले सबै सांसदहरूलाई फूलमाला र खादा ओढाएर बधाई दिएका थिए । अन्य सांसदहरूबीच पनि बधाई आदानप्रदान भएको थियो ।