×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सरकारको गुण र दोष विश्लेषण गरेर सरकारकाे विरोध र समर्थन गर्छाैं : देउवा

सरकारको गुण र दोष विश्लेषण गरेर सरकारकाे विरोध र समर्थन गर्छाैं : देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको गुण र दोषका आधारमा विश्लेषण गरेर सरकारलाई विरोध र समर्थन गर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै सभापति देउवाले संसद्‍मा कांग्रेसले आफू प्रतिपक्षी दलको रुपमा रहने निर्णय गरेको सुनाए ।

‘हामी पुष्पकमल दाहालजी नेतृत्वको सरकारमा सहभागी हुँदैनौँ । र प्रतिपक्ष दलको रुपमा भूमिका निर्वाह गर्ने निर्णय गरेका छौँ । हामी प्रतिपक्षमा रहन्छौँ, तर प्रतिपक्षी भएर विरोधका लागि विरोध मात्रै होइन, हामी सरकारका काम कारबाहीको गुण र दोषका आधारमा धारणा बनाउनेछौँ ।’

सभापति देउवाले अहिलेको मिश्रित निर्वाचन प्रणालीका कारण कुनै पनि दलको बहुमत आउने अवस्था नरहने भन्दै दलहरूबीच सहकार्य र एकताको अभ्यासलाई निरन्तरता दिनुपर्ने बताए । उनले संसद्‍मा प्रतिपक्षी दलको उपस्थिति नभए सरकार र सत्ता पक्ष निरंकुश बन्ने र संसद् समेत कर्तव्यबाट विमुख हुन सक्ने बताए ।

‘प्रतिपक्षको भूमिका नभए संसद् आफैं पनि देश र जनताप्रति उत्तरदायी काम गर्न सक्ने संस्थाकोरुपमा नरहन सक्दछ । यसकारण हामीले संसद्‍मा प्रतिपक्षको भूमिका हुनुपर्दछ भनेर कल्पना गरेका हौँ,’ देउवाले भने, ‘सरकारका गुण र दोष केलाउनु संसद्को क्षेत्राधिकारभित्रको कुरा हो । हामी प्रतिपक्षकोरुपमा त्यो भूमिका निभाउनेछौँ ।’

प्रतिकृया दिनुहोस्