मंगलबार सिंहदरबार छाड्नुअघि देशवासीको नाममा सम्बोधन गरेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी केही महिनाभित्रै सबै नेपालीले कोरोना खोप पाउने सुनिश्चित भएको दाबी गरे ।
प्रतिकूल अवस्थामा पनि कोभिड महामारीविरुद्ध प्रभावकारी काम गरेको जिकिर गर्दै ओलीले हालसम्म खोप लगाउनेको विवरण सुनाए । उनका अनुसार ९ लाख ३२ हजार ८६८ ले दुवै डोज र १६ लाख ७८ हजार ९९३ जनाले पहिलो डोज लगाएका छन् । १ करोड ३१ लाख डोज खोप नेपाल आउने सुनिश्चित भएको दाबी गरेका उनले २ करोड डोजभन्दा बढी खरिदको प्रक्रिया अघि बढेको भन्दै खोपको अभाव नभएको बताए ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कहाँबाट कति खोप आए भन्ने हिसाब मात्र सुनाएनन्, खरिद प्रक्रियामा रहेको खोपको हिसाब पनि सुनाए । तर ओलीले सुनाएको हिसाब नमिलेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले बताए ।
उनीहरु भन्छन्, ‘आएको खोपको हिसाब सही छ, तर खरिद प्रक्रियामा रहेको भनिएको खोप आउने नआउने टुंगो छैन ।’