एमाले कार्यदलको बैठक आज पनि निष्कर्षविहीन सकिएको छ । विपक्षी एमालेको तर्फबाट गठित वार्ता टोलीका सदस्य गोकर्ण विष्टकाअनुसार आजको बैठकमा सहमतिको बिन्दु पहिल्याउन कार्यदल असफल रह्यो । सिंहदरबारबाट बाहिरिँदै सदस्य विष्टले भने- ‘भोलिसम्म भने सहमतिमा पुग्न सकिन्छ । सायद भोलि सुखद् समाचार सुुन्न पाइन्छ ।’
कार्यदलका सदस्यहरुले आजको बैठकलाई ‘निर्णायक’ बैठकको संज्ञा दिएका थिए । तर, सहमति भने जुटेन । कार्यदलले आजै सहमतिको खाका तयार पार्ने जनाएपनि खाकासमेत बन्न सकेन । खासगरी ‘पावर सेयरिङ्ग’ को विषयलाई लिएर पछिल्लो समय खर्चिरहेका एमाले कार्यदलले अहिलेसम्म ठोस प्रगति गर्न सकेको छैन ।
गत २१ गतेदेखि लगातार रुपमा बस्दै आएको एमाले कार्यदलले पार्टीलाई ०७५ जेठ २ मै पूर्ण रुपले फर्काएर एकतालाई कायम राख्ने बताएपनि शक्ति सन्तुलनमा मिलिरहेको छैन । संस्थापन पक्षका एक सदस्यले भने— ‘उहाँ (माधवकुमार नेपाल) ले शक्ति सन्तुलन मिलाएर जाने भन्नुभएको छ । त्यो तत्कालै सम्भव नदेखिने हुँदा सहमति हुन सकेको छैन ।’
एमाले एकता कायम राख्नका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र विपक्षी एमालेको नेतृत्व गरिरहेका नेता नेपालबीच गत बुधबार छलफल भएको थियो । तर, त्यहाँबाट सहमति जुटेन । मेरियट होटलमा भएको भेटमा अध्यक्ष ओलीले ‘सर्वोच्च अदालतबाट हस्ताक्षर फिर्ता लिनुस्’ भनिरहे भने नेता नेपालले नबोलेरै टारे । जवाफमा नेता नेपालले एक व्यक्ति एक पदको अवधारणाअनुरुप जानुपर्ने भन्दै प्रधानमन्त्री र अध्यक्षमध्येमा एक पद छोड्न आग्रह गरेका थिए, जहाँ अध्यक्ष ओली पनि प्रतिक्रियाविहीन भएका थिए ।
अब कार्यदलका सदस्यहरुकाअनुसार आइतबारको बैठकबाट भने समाधानको बिन्दु भेटिने छ ।