काठमाडाैँ- एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग २-० अन्तरले पराजित भएको छ ।
बुधबार राति कुवेत सिटीस्थित जाबिर अल अहमद स्टेडियममा पहिलो हाफमा जोर्डनलाई रोकेको नेपाल दोस्रो हाफमा भने त्यसलाई निरन्तरता दिन सकेन । जोर्डनको जित अलि ओल्वन र हाम्जा अल दारदौरले एक/एक गोल गरे ।
पहिलो हाफमा नेपालका गोलकिपर दीप कार्कीले पेनाल्टी बचाउँदा जोर्डम दबावमा आएको थियो । पहिलो आधिकारिक प्रतियोगितामै सुरुवाती एघारमा स्थान बनाएका दीपले खेलको ४३औँ मिनेटमा जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाएका थिए ।
जितसँगै जोर्डनले पहिलो खेलबाट ३ अंक जोडेको छ । नेपाल बिनाअंक समूह बीको पुछारमा छ । आजनै भएको खेलमा आयोजक कुवेत इन्डोनेसियासँग १-० ले पराजित भयो । अब नेपालले २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।