काठमाडौँ- इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम र वेस्ट ह्याम युनाइटेड विजयी भएका छन् । गएराति भएको खेलमा टोटेनह्यामले घरेलु टोली वाट्फोर्डमाथि रोमाञ्चक जित निकाल्यो ।
इन्ज्युरी समयमा डाभिन्सन सान्चेजले गोल गरेपछि टोटेनह्याम १-० ले विजयी भएको हो । खेलको सुरुवातदेखि नै बल पोजेसन राख्दै वाट्फोर्डमाथि दबाब बढाएपनि टोटेनह्यामले गोलको लागि निकै संघर्ष गर्नुपर्दा इन्ज्युरी समय नै कुर्नुपरेको थियो ।
इन्ज्युरी समयको थप गरिएको छैटौँ मिनेटमा डाभिन्सन सान्चेजले गोल गर्दै टोटेनह्यामलाई महत्त्वपूर्ण जित दिलाए । यो जितसँगै टोटेनह्याम १८ खेलबाट ३३ अंक जोडेर छैटौँ स्थानमा उक्लिएको छ । पराजित वाट्फोर्ड १३ अंक जोडेर १७औँ स्थानमा छ ।
अर्को खेलमा वेस्ट ह्याम युनाइटेडले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गरेको छ । वेस्ट ह्यामको जितमा म्यानुयल लान्जिनीले दुई तथा मिचेल एन्टेनियोले एक गोल गरे । घरेलु टोलीका ओड्सोनी इडुआर्ड र माइकल ओलिसीले गोल गरे ।
जितसँगै वेस्ट ह्याम तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । उसको २० खेलमा ३४ अंक छ । क्रिस्टल प्यालेस समान खेलमा २३ अंकका साथ ११औँ स्थानमा छ ।