काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभा उपनिर्वाचनमा भाग लिने भएको छ । प्रदेश सभा उपनिर्वाचनमा भने भाग नलिने रास्वपाले निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ भने सुदूरपश्चिम प्रदेश सभाका बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर क मा भने उम्मेदवार नउठाउने निर्णय गरेको छ ।
इलाम २ बाट निर्वाचित एमालेका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि उक्त क्षेत्र रिक्त भएको थियो भने सुदूरपश्चिम प्रदेश सभा सदस्य बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएकाले त्यहाँ सिट रिक्त भएको थियो । यी दुवै क्षेत्रमा आगामी वैशाख १५ मा उपनिर्वाचन हुँदैछ ।
रास्वपा केन्द्रीय समितिले सरकारमा गएपछि मन्त्रीहरूको आवधिक कार्यसम्पादन गर्ने पनि निर्णय गरेको छ । त्यस्तै, सरकारका काममा सहयोग गर्न टीम पनि चयन गरिएको छ ।
त्यस्तै, रास्वपाले जनसम्पर्क विभाग पनि गठन गरेको छ । विभागको प्रमुखको जिम्मेवारी इश्रा मुल्ला मियालाई तोकिएको छ । केन्द्रीय अनुशासन आयोगमा दुई सदस्य पनि थप्ने निर्णय रास्वपा केन्द्रीय समितिले गरेको छ ।