काठमाडौं - नेपाल टेलिकमले विदेशमा आफ्नो सिम प्रयोग गर्ने प्रयोगकर्ताका लागि पहिलेभन्दा सस्तो दरमा डेटा रोमिङ सेवा उपलब्ध गराएको छ ।
यसरी विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ता (आउटबाउन्ड रोमर)हरूले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डेटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरहरूसँग गरिएको सम्झौताअनुसार उक्त महसुल दरमा भारी कटौती भएको टेलिकमले जनाएको छ ।
यस अनुसार टेलिकमको पोस्टपेड तथा प्रिपेड सिम प्रयोगकर्ताले विश्वमा रहेका २८ देशका रोमिङ पार्टनरहरूको नेटवर्कमा आवद्ध भई डेटा रोमिङ सेवा प्रयोग गर्दा सस्तो मूल्यमा डेटा सेवा उपलब्ध हुनेछ ।
डेटा रोमिङ सुविधा प्रयोग गर्न ग्राहकले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्छ । पोस्टपेड तथा प्रिपेड ग्राहकले नेपालमै रहँदा आफ्नो मोबाइलबाट *1415*7# डायल गरी वा प्रिपेड ग्राहकहरुले नेपाल टेलिकम एपमार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सक्नेछन् ।