×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौंमा हैजाले महामारीको रुप लिँदै

काठमाडौंमा हैजाले महामारीको रुप लिँदै

काठमाडौं- काठमाडौंमा दुई जना बिरामीको परीक्षण गर्दा हैजा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । “शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा‘ परीक्षण गर्दा हैजा रोगको जीवाणु पत्ता लागेको जानकारी गराउन चाहन्छौँ,” मन्त्रालयले आइतवार बेलुकी जारी विज्ञप्तिमा भनेको छ । अस्पतालका सङ्क्रामक रोग विज्ञ डा। शेरबहादुर पुनका अनुसार उनीहरूमा हैजाको लक्षण देखिएपछि परीक्षण गरिएको थियो ।

ती बिरामी काठमाडौँमा बस्ने एकै परिवारको रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले उपत्यकाका सबैलाई सतर्क रहन र हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध गरेको छ । डा। पुनले हाल झाडापखालाका बिरामीको सङ्ख्या बढिरहेको अवस्थामा बिरामीलाई विभिन्न किसिमको सङ्क्रमण हुने भए पनि हैजाले सबैभन्दा छिटो र बढी असर गर्ने बताए ।

के हो हैजा भनेको ?

हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको सङ्क्रमणका कारण हुन्छ । सामान्यतया झाडापखालाजस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुने चिकित्सकहरू बताउँछन् । सङ्क्रमणको असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुन सक्ने डा। पुनको भनाइ छ । उनका अनुसार उक्त जीवाणुको सङ्क्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिन्छन् ।

हैजाका लक्षणहरू के–के हुन रु

हैजा भएका मानिसहरूलाई निरन्तर दिसा लाग्छ। उनीहरूको दिसा अधिक पातलो हुने बताइन्छ । “चामलको चौलानीजस्तो तरल पदार्थ मानिसको शरीरबाट निरन्तर बगिरहन्छ। त्यसो हुँदा बिरामीको शरीरलाई आवश्यक तत्त्वहरू पनि बग्छन्,” डा। पुन भन्छन् ।

त्यस्तै पटकपटक बान्ता आउने, पेट वा खुट्टाको मांसपेशी बाउँडिनेजस्ता समस्याहरू अधिकांश बिरामीमा देखिने उनले बताए । अधिक तरल पदार्थ खेर जाने भएकाले बिरामीलाई धेरै तिर्खा समेत लाग्ने उनले बताए। त्यस्तै बिरामीहरूमा अधिक थकान र बेचैनी हुने उनको भनाइ छ । केही मानिसमा हैजाको लक्षण नदेखिए पनि सङ्क्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ ।

“ती व्यक्तिले सरसफाइमा ध्यान दिएनन् भने उनीहरूमार्फत हैजा अन्य मानिसहरूमा पनि फैलिन्छ,” डा। पुनले भने ।अधिक कमजोरीका कारण केही मानिसहरू बेहोस नै हुनसक्ने उनले बताए ।

कति घातक छ हैजा ?

हैजाको कारण सङ्क्रमितलाई पीडा नहुने भए पनि यसको सङ्क्रमण जोखिमपूर्ण भएको डा। पुनको भनाइ छ । उनका अनुसार अन्तर्राष्ट्रिय रूपमै हैजाका १० जना बिरामीमध्ये एक जनालाई कडा किसिमको सङ्क्रमण हुने तथ्याङ्क छ ।

डा। पुन भन्छन्, “कडा किसिमको रोग लागेका व्यक्तिले समयमै उपचार नपाएको अवस्थामा मृत्युको जोखिम उच्च हुन्छ ।” उपचार अभावमा मानिसको मृत्यु हुने सम्भावना ५० प्रतिशतसम्म रहने बताइन्छ । वर्षा याम लागेपछि नेपालका विभिन्न क्षेत्रमा हैजाका बिरामीहरू बर्सेनि देखिने गर्छन् ।

तीमध्ये केहीको मृत्युसमेत हुने विवरणहरू सार्वजनिक भएका छन्। उनीहरूको मृत्युको प्रमुख कारण देशको भौगोलिक विकटता र विकट क्षेत्रका मानिसहरूले भोग्नु पर्ने उपचार अभाव भएको डा। पुन बताउँछन् ।

“गत वर्ष कपिलवस्तुमा हैजाको कारण सयौँ मानिस प्रभावित भए र केहीको मृत्यु भयो । मृत्यु हुनेमा प्राय समयमा उपचार नपाउनेहरू थिए,” उनले भने । बिरामीले झाडापखालालाई सामान्य ठानेर घरमै उपचार विधि नअपनाउँदा समस्या जटिल बन्न सक्ने उनले बताए ।

कसरी लाग्छ हैजा ?

पिउने पानी र खानेकुरा नै हैजाको प्रमुख कारण मानिन्छ । व्यक्तिगत वा वरपरको सरसफाइमा ध्यान नदिनु र लक्षण नदेखिएका सङ्क्रमितसँग सम्पर्कमा आउनुले समेत मानिसमा यो रोग सार्ने उनको बुझाइ छ ।

“यदि काठमाण्डूमा उपचाररत बिरामीहरूलाई हैजा नै भएको रहेछ भने यो बिस्तारै फैलँदै छ । किनकि त्यहीँ पानी वा खाद्यान्न अरूले पनि खाएका छन्,” डा। पुनले भने । त्यस्तै काठमाडौँमा केही दिनदेखि थुप्रिएका फोहोरले समेत भूमिका खेलेको हुनसक्ने उनको भनाइ छ ।

उपचारका उपाय कस्ता रहेका छन् ?

हैजाको जीवाणु फैलिनुअघि नै यसविरुद्ध खोप लगाउनु उपयुक्त उपाय हुने डा। पुन बताउँछन्। उनले विशेषगरी विकट क्षेत्रका मानिसहरूसम्म त्यस्ता खोप पु¥याउनु अत्यावश्यक देखेका छन् ।

“जहाँ स्वास्थ्य सेवा प्रभावकारी छैन, त्यहाँ रोग लाग्नै नदिनु उचित हुन्छ,“ उनले भने ।

नेपालमा हैजाको खोप छ ?

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चुमनलाल दास नेपालमा हैजाविरुद्ध खोपको उपलब्धता सहज नभएको स्वीकार्छन् । उनका अनुसार अन्तर्राष्ट्रिय सहयोगबाट प्राप्त खोप हाल कपिलवस्तुका मानिसहरूलाई उपलब्ध गराइएको छ ।

“हैजाको खोप खरिद र भण्डारण अरू खोपको जस्तो सहज छैन। त्यसैले यो राष्ट्रिय खोप कार्यक्रम भित्र समावेश गरिएको छैन। त्यसको जोखिम कम गर्न हामी काम गरिरहेका छौँ,“ डा। दासले भने । हैजा भइसकेको अवस्थामा पुनर्जलीय झोल अर्थात् जीवनजललाई प्राथमिक उपचार उपाय मानिन्छ ।

त्यसबाहेक जटिल अवस्थामा रहेका बिरामीलाई नसामार्फत सलाइन दिइने डा। पुनले बताए । कुनै अवस्थामा बिरामीको शरीरमा रोगको अवधि कम गर्नका निम्ति एन्टिबायोटिक प्रयोग गरिने उनको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस्