काठमाडौँ- बान्तवा भाषा पाठ्यक्रम लेखन तथा निर्माणका लागि समिति गठन गरिएको छ । आइतबार भोजपुर अमचोक गाउँपालिकाको बलाङ्खामा सम्पन्न विशेष कार्यक्रमले केन्द्र, जिल्ला र गाउँपालिकास्तरीय पाठ्यक्रम लेखन तथा निर्माण समिति गठन गरेको हो ।
किरात राई बान्तवा खिम केन्द्रको आयोजनामा तथा आम्चोक गाउँपालिकाको आर्थिक सहयोग र भाषा आयोगको समन्वयमा सम्पन्न भएको कार्यक्रमले पाठ्यक्रम लेखन तथा निर्माणको कामलाई द्रुत गतिमा अगि बढाउने निष्कर्षसमेत निकालेको छ ।
कार्यक्रममा विभिन्न जिल्लाका प्रधानाध्यापक र शिक्षकहरूसँगै जनप्रतिनिधि तथा विज्ञष विज्ञहरूको उपस्थिति थियो । उनीहरूले बान्तवा भाषा पाठ्यक्रम बन्नु समयानुकूलको भाषिक विकासका लागि आवश्यक रहेको बताए । किरात राई बान्तवा खिमकी सचिव रिता राराहाङकाअनुसार गठित समितिले पाठ्यक्रम निर्माणका लागि स्थानीय परिवेश र अवस्थाअनुकूलकाे विषय र सामाग्रीबारे केन्द्रीय समितिलाई सिफारिस गर्नेछन् । साेहीअनुसार पाठ्यक्रम बन्नेछ । हाल पाँचथर, ईलाम, धनकुटा, उदयपुर, र भोजपुरका नगरपालिका तथा गाउँपालिकाका १९ वटा विद्यालयहरूमा बान्तवा भाषाको पठनपाठन भइरहेको छ ।