काठमाडौं- गठबन्धनमा सिट बाँडफाँडको मोडालिटी बनाउन गठित कार्यदलको बैठकअघि बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठक सकिएको छ । आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि गठबन्धनको कार्यदलको बैठक आज (सोमवार) दिउँसो बस्दै छ । आज गठबन्धन सम्बद्ध बाँकी दलको कुरा सुनेर फेरि बस्ने गरी शीर्ष नेताहरुकाे बैठक सकिएको हो ।
कार्यदलको बैठकमा गठबन्धनको सिट बाँडफाँटको आधार र मापदण्डको विषयमा छलफल हुने छ । पार्टीका नेताहरूको परामर्शका आधारमा सुरुमा आधार र मापदण्ड तय गरेपछि सिट बाँडफाँटबारे छलफल गर्ने कार्यदलको तयारी छ ।
कार्यदलमा नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन, अर्थमन्त्री जनार्दन शर्मा, एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० निर्वाचन क्षेत्रको सिटमा बाँडफाँटका लागि कार्यदलले मापदण्ड र मोडालिटी बनाउने कार्यभार पाएको छ । प्रतिनिधिसभामा कांग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गरेका छन् । प्रदेशमा पनि कर्णाली बाहेकमा कांग्रेसले एकल बहुमत आउने गरी दाबी प्रस्तुत गरेको छ।