काठमाडौं- ललितपुरको नख्खु–भैँसेपाटी सडकखण्ड समयमा नै निर्माण नभएको भन्दै स्थानीयहरूले बन्द गरिदिएका छन् ।
नख्खु–भैँसेपाटी सडकखण्ड नबनाएर लामो समयदेखि अलपत्र छाडेको भन्दै उनीहरूले सोमबार सडक बन्द गरिदिएका हुन् ।
स्थानीयहरुले सडक अवरुद्ध गरेपछि सवारी साधनहरू वैकल्पिक मार्गहुदै सञ्चालन भएका छन् । लामो समयदेखि सडक अलपत्र पार्दा धुवा, धुलो र हिलोले स्थानीय बिरामी पर्न थालेको र सो सडक हुदै आवाजजावतमा समस्या भएकाले बाध्य भएर दबाब दिन सडक बन्द गर्नुपरेको उनीहरूको भनाइ छ ।
ललितपुर महानगरपालिका– १८ का वडाध्यक्ष दामोदर खड्काले लामो समयदेखि सडक नबनाउँदा समस्या भोग्नुपरेको भन्दै बाध्य भएर सर्वसाधारण विरोधमा उत्रन बाध्य भएको बताए ।
पाँच किलोमिटर लम्बाइको नख्खु–भैसिपाटी–बुङ्मती सडक निर्माणको काम विसं २०७३ देखि सुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्ग लगायतका संरचना निर्माण गरिने भन्दै भत्काइएको सडक पूर्णरुपमा निर्माण हुन सकेको छैन ।