काठमाडौँ । सरकारले राष्ट्रसेवक कर्मचारीहरूलाई महिनाको एक पटक नभई अब १५-१५ दिनको अन्तरालमै तलबभत्ता उपलब्ध गराउने तयारी सुरु गरेको छ। अर्थ मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै यसका लागि आवश्यक व्यवस्था मिलाउन महालेखा नियन्त्रक कार्यालयलाई परिपत्र गरिसकेको छ। महालेखा नियन्त्रक शोभाकान्त पौडेलका अनुसार मन्त्रालयको निर्देशन प्राप्त भइसकेकाले यसलाई छिट्टै कार्यान्वयनमा लैजाने तयारी भइरहेको छ। कर्मचारीको हातमा समयमै पैसा पुगोस् र बजारमा पुँजीको प्रवाह बढ्दा अर्थतन्त्र थप चलायमान बनोस् भन्ने उद्देश्यले सरकारले यो कदम चालेको हो।
यद्यपि, यो नयाँ व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन विद्यमान कानुनमा संशोधन गर्नुपर्ने देखिएको छ। हालको निजामती सेवा ऐनमा कर्मचारीले महिना भुक्तान भएपछि मात्र तलब पाउने व्यवस्था रहेकाले यसलाई परिवर्तन गर्नुपर्ने हुन्छ। सरकारले हाल संसद्मा लैजाने तयारी गरिरहेको 'संघीय निजामती सेवा ऐन' मै १५-१५ दिनमा तलब खुवाउने कानुनी प्रावधान राख्न लागिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। ऐन पारित भएलगत्तै यो निर्णय लागू गर्न सकिने गरी प्राविधिक र प्रशासनिक तयारी चुस्त राख्न महालेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिइएको छ।