हेटौँडा - बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मङ्गलबार प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेको सिफारिशमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले घनश्याम दाहाल, विशाल खड्का, रत्नप्रसाद ढकाल, वसन्तप्रसाद मानन्धर र बसुन्धरा हुमागाईँ मन्त्री तथा इन्द्रमाया गुरुङ राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।
मन्त्रीमा नियुक्तिसँगै प्रदेश प्रमुख शर्माले प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको सपथग्रहण गराउनुभएको छ । यस्तै राज्यमन्त्री गुरुङलाई प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री पाण्डेले पद तथा गोपनियताको सपथग्रहण गराउनुभएको थियो ।
विस्तारित मन्त्रिपरिषद्मा दाहालले श्रम, रोजगार तथा यातायात मन्त्रालय, मानन्धरले खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालय, हुमागाईँले कृषि तथा पशुपंक्षी मन्त्रालय, खड्काले वन तथा वातावरण मन्त्रालय र ढकालले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । यस्तै गुरुङलाई कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।
नवनियुक्त मन्त्रीहरु र राज्यमन्त्रीले मङ्गलबार साँझ नै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ ।
दोश्रो पटक विस्तारित मन्त्रिमण्डलमा पर्नुभएका मन्त्रीहरु दाहाल, खड्का र ढकाल नेकपा (माओवादी केन्द्र) का तथा मानन्धर, हुमागाईँ र राज्यमन्त्री गुरुङ नेकपा (एकीकृत समाजवादी) का हुनुहुन्छ ।
योसँगै एक राज्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रिमण्डल बनेको छ । प्रदेशमा यसअघि आठवटा मन्त्रालय रहेकोमा हाल मन्त्रालय फुटाएर १४ वटा पु-याइएको छ ।