काठमाडौं - नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि भएको सहमति प्रयास विफल भएको छ। नेतृत्वमा सहमति जुट्न नसकेपछि निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
अनेरास्ववियुको जारी बन्द सत्रमा अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले सर्वसम्मत नेतृत्वका लागि केही नाम प्रस्ताव गरेका थिए। उनले अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अन्जना शिवाकोटी तथा महासचिवमा दीपक धामीको नाम अघि सारेका थिए।
यद्यपि, एमालेको पार्टी नेतृत्वले सर्वसम्मतिबाटै नेतृत्व टुंग्याउन निर्देशन दिए पनि अध्यक्षका अन्य आकांक्षीहरू प्रकाश पौडेल र दीपक धामीका पक्षधरले सो प्रस्ताव अस्वीकार गरेका थिए। उनीहरूले तत्काल निर्वाचनको माग गर्दै नाराबाजी र होहल्ला गरेपछि सहमति प्रयास भंग भएको हो।
सहमति नजुटेपछि निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार, आज (मंगलबार) दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता फारम वितरण र ४ देखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।
मतदान भने भोलि (बुधबार) बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ।