काठमाडौँ - निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिक तथा आफ्नो स्थायी ठेगानाबाहिर रहेका अन्तर-जिल्ला मतदातालाई मतदानको अधिकार प्रदान गर्नेसम्बन्धी विषयमा २४ वटा राजनीतिक दलहरूसँग छलफल गरेको छ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार तीनै तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग मताधिकारको दायरा विस्तार, बदर मत न्यूनीकरण, मतदाता नामावलीको शुद्धता र सूचना प्रविधिको प्रयोगबारे परामर्श लिइएको हो। छलफलमा दलहरूले निर्वाचनको स्वच्छता र निष्पक्षतामा आँच नआउने गरी विज्ञहरूसँगको परामर्शमा मात्र प्रविधिको प्रयोग गर्न सुझाव दिएका छन्।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले राजनीतिक दल र आयोगको सहकार्यबाट मात्र निर्वाचन प्रक्रियामा समयानुकूल सुधार सम्भव हुने बताउनुभयो। बैठकमा आयुक्तहरू डा. जानकी कुमारी तुलाधर, सगुन शम्सेर ज.ब.रा., गुरुप्रसाद वाग्ले, डा. राजीव सुब्बा र प्रवक्ता नारायण प्रसाद भट्टराईको उपस्थिति रहेको थियो।