काठमाडौँ- कतै शीर्ष नेताहरूको साँठगाँठ र मिलेमतोले अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरण सेलाउने त होइन भन्ने आशङ्का केही कम भएको छ । प्रधानमन्त्री पुष्प कमल दाहालले बुधबार सिंहदरबारमा भएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा उच्च राजनीतिक नेतृत्व मुछिए पनि प्रहरी अनुसन्धानमा कुनै डिस्टर्ब नगर्ने सहमति भएको जानकारी दिएपछि आश्वस्तता बढेको हो । शीर्ष नेताहरू बीच भएको सहमति बारे जानकारी गराउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने, ‘यो विषयमा प्रहरीले जसरी अनुसन्धान बढाएको छ, यसमा प्रहरीलाई कुनै डिस्टर्व गर्नु हुँदैन भन्नेमा हामी सबैको सहमति छ।'साथै उनले मिडियामा प्रचार भए जसरी तीन जना नेताबिचको भेटमा दोषीलाई उम्काउने प्रयास नभएको समेत दाबी समेत गरे । उनले भने, ‘त्यस्तो होइन । हामीहरूको भेट अहिले सदनलाई कसरी सुचारु गरेर लैजाने, त्यहाँ समितिहरू कसरी बनाउने, संयुक्त समितिहरू कसरी बनाउने भन्ने विषयमा भएको हो ।'
पत्रकारहरूलाई लक्षित गर्दै उनले थपे, 'तपाईँहरूलाई लागेको छ, त्यही एउटै केसमा तर त्यो होइन ।’ उनले भुटानी शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति नपाओस् भनेर प्रहरीलाई स्पष्ट निर्देशन दिएको पनि बताए ।
‘हामीले क्लियर भाषामा भनेका छौँ, दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्, प्रहरीले आफ्नो काम ठिक ढङ्गले गरोस् भनेर स्ट्यान्डिङ अर्डर दिएकै छौ’, प्रधानमन्त्रीले भने ।
उनले प्रहरीले गरेको काममा आशङ्का नगर्न समेत आग्रह गरे । उनको भनाई थियो, ‘प्रहरीले आफ्नो काम गरेको छ । त्यस कारण यसमा आशङ्का गर्नुपर्ने केही कारण छैन । जे भएको छ विधि विधान अनुसार, नियम पद्दति अनुसार प्रहरीले आफ्नो काम गरेको छ । हामी राजनीतिक नेतृत्वले आफ्नो काम गरेका छौँ ।’
त्यसअघि प्रचण्डले वर्तमान सरकारले राम्रो गर्ने र राम्रो बाहेक गर्दै नगर्ने बताएका थिए । दिवङ्गत वामपन्थी नेता निर्मल लामाको २३ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । प्रचण्डले भने, ‘सामाजिक रूपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढङ्गले सुरु गर्ने अठोटका साथ अगाडि बढाएका छौँ ।’