काठमाडौं - प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ९८ रनको सामान्य लक्ष्य दिएको छ । बायाँ हाते युवा स्पिनर सूर्य तामाङको उत्कृष्ट बलिङ गरेपछि सस्तैमा समेटिएको हो। क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी २७.१ ओभरमा ९७ रनमा अल आउट भयो । आर्मीका कप्तान विनोद भण्डारीले ४० बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए । भीम सार्की ४१ बलमा ३ चौकासहित १८ रन बनाए । पछिल्लो खेलमा मधेशलाई हराउन ह्याट्रिकसहित ६ विकेट लिएका सूर्यले आर्मीविरुद्ध पनि सानदार बलिङ गरे ।
सूर्यले ५ विकेट लिँदै सिनियर टोलीबाट खेलेका ८ खेलाडी सम्मिलित आर्मीलाई एक सय रन कटाउन पनि दिएनन् । आर्मीको टोलीमा सन्तोष कार्की, इमरान शेख र सन्दीप रजाली बाहेक अन्य ८ खेलाडीले नेपाली टोलीबाट खेलेका छन् ।
मुलपानीको स्पिनर सहयोगी मैदानमा आर्मी कुनै पनि समय खुल्न सकेन । तीव्र गतिका बलर प्रतिश जि.सीले इमरान शेखलाई ५ रनमा क्याच र सन्तोष कार्कीलाई रिजन ढकालले ९ रनमा बोल्ड गरे । त्यसपछि सूर्यले आर्मीको मध्यक्रम ध्वस्त पारेका थिए । आर्मीले सोमपाल कामीलाई तेस्रो नम्बरमा पठाएको थियो ।
सोमपाल रिजन ढकालको बलमा शून्यमा प्रतिशबाट क्याच आउट भए । सूर्यले कुशल मल्ललाई शून्य, बसिर अहमदलाई ५ र साहब आलमलाई ७ रनमा बोल्ड आउट गरे । त्यस्तै भीम सार्कीलाई १८ र सन्दीप रजालीलाई एक रनमा क्याच गराउँदै सूर्यले बागमतीलाई खेलमा हाबी बनाएका थिए । विवेक यादव ११ रनमा नट आउट रहे ।
बागमतीका सूर्य तामाङले ९ ओभरमा २ मेडनसहित २६ रन खर्चेर ५ विकेट लिए । प्रतिश जि.सीले ५.१ ओभरमा २ मेडनसहित ८ रन खर्चेर २ विकेट लिए । रिजन ढकालले ५ ओभरमा १ मेडनसहित २० रन खर्चेर २ विकेट लिए । कृर्जन गुरुङको नाममा एक विकेट रह्यो ।