×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओलीको दाबी: भदौ २४ मा पाँच मिनेट ढिला भएको भए मलाई मार्ने योजना थियो

ओलीको दाबी: भदौ २४ मा पाँच मिनेट ढिला भएको भए मलाई मार्ने योजना थियो

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते बालुवाटारबाट निस्कन पाँच मिनेट मात्रै ढिला भएको भए आफूलाई मार्ने योजना रहेको दाबी गरेका छन्। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भने घाइते बनाउने योजना रहेको सुनाएका हुन्।

भक्तपुरको गुण्डुस्थित डेरामा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका अध्यक्ष पासाङ शेर्पासहितको समूहसँगको भेटमा ओलीले उक्त घटनाबारे जानकारी दिएका हुन्।

"यसपटक पाँच मिनेट ढिला भएको भए, मार्ने नै थिए। शेरबहादुरजीलाई घाइते बनाउने र मलाई मार्ने खालकै योजना थियो," ओलीले भने।

उनको भनाइअनुसार, यो सत्ता नै पल्टाउने हठात् घटना भएकाले आफूले कुनै तयारी गर्न नपाएको थियो। "मैले आफ्नो तयारी पनि गर्न पाइनँ," उनले थपे।

ओलीले सुरक्षामाथि केही भरोसा भएको तर प्रदर्शन चर्किंदै गएपछि सुरक्षा संयन्त्रले "हामी केही पनि गर्न सक्दैनौं, केही पनि गर्दैनौं" भनेको बताए।

"सेक्युरिटीमाथि मलाई अलिकति भरोसा भयो, सेक्युरिटीले हामी केही पनि गर्न सक्दैनौं, केही पनि गर्दैनौं भन्यो," उनले पासाङ शेर्पासहितको समूहसँग भने।

अन्तिममा नेपाली सेनाले आफूलाई भगाउन सहयोग गरेको ओलीले बताए।

भदौ २४ गते प्रदर्शन हिंसात्मक बन्दै गएपछि ओलीले दिउँसो २ बजे प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसलगत्तै उनलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत् उद्धार गरी शिवपुरी पुर्‍याएको थियो।

"अन्तिममा सेनाले भगाइसम्म दियो। त्यहाँबाट निकाल्यो एकछिनमा। पाँच मिनेट भित्रमा हामी हिँड्यौं," उनले भने।

यस्तो परिघटनाका बाबजुद मनोबल कमजोर नबनाउन उनले आफ्ना कार्यकर्ताहरूलाई आग्रह गरे। "कमजोर मनोबल बनाएर यसका विरूद्ध हामीले केही पनि गर्न सक्दैनौं। यस षड्यन्त्रबाट देशलाई जोगाउनचाहिँ उच्च मनोबल गर्नैपर्छ," उनको भनाइ थियो।

उनले यस घटनालाई "देशै जलाउने आपराधिक घटना" को संज्ञा दिए। "अब यस प्रकारको देशै जलाउने खालका आपराधिक घटनाहरू, यो त महाआपराधिक घटना हो," उनले भने। उनले एमाले हुँदाहुँदै अब यस्ता घटना हुन नदिने बताए। "हामी एमाले हुँदाहुँदै अब कुनै पनि हालतमा यस्ता घटना हुन दिँदैनौं। एमाले हुँदाहुँदै सिंहदरबार जलाउने?" उनले प्रश्न गरे।

ओलीको विश्लेषणमा, यसपटक एमालेको कमजोरी भएको र देशका सम्पत्तिको रक्षा गर्न चुकेको थियो। "यसपल्ट हाम्रो अलिकति कमजोरी भयो। यस प्रकारको हुन्छ भन्ने हाम्रो कल्पना..., यो हदसम्म देशै जलाउँछन् भन्ने खालको त्यस्तो लागेको थिएन," उनले भने।

उनले देशद्रोही र आपराधिक तत्वहरू विभिन्न ठाउँमा, पद र ओहोदामा समेत पुगेको टिप्पणी गरे। "देशद्रोही, अपराधी तत्वहरू विभिन्न ठाउँठाउँमा पनि पुगेका रहेछन्, पद ओहोदामा पनि पुगेका रहेछन्, छद्म तत्व भित्र पसेका रहेछन्। तर वास्तवमा देशलाई माया नै नगर्ने तत्वहरू शेर पल्टेर बसेका रहेछन्। यसपटक हामीले देख्यौं। त्यस्ता तत्व हामीले चिनेका छौं। त्यस्ता तत्वलाई विस्तारै नियन्त्रण गर्दै लगिनेछ," उनले भने।

प्रतिकृया दिनुहोस्