×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

१२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीलाई ५० हजार

१२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीलाई ५० हजार

काठमाडौं- हालै निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले विभिन्न लोकप्रिय निर्णय गर्न थालेका छन्।

वडादेखि पालिका सम्मका जनप्रतिनिधिहरूले गरेका निर्णयहरू केही विवादमा परेका छन् भने केही निर्णयले प्रसंशासमेत हुने गरेको छ। सर्लाहीको एक स्थानीय तहले १२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीहरूलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ।

हालै निर्वाचित चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बालविवाह रोक्न र छोरीहरूलाई पढ्ने उत्प्रेरणा जगाउनका लागि सम्मान स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेका हुन्। स्थानीय चुनावको तयारी गर्नुअघि महतो विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालयमा काम गर्थे। उनी बागमती प्रदेशका संयोजक थिए।

चुनावका लागि उनी गत असोजदेखि गाउँमै बस्न थालेका थिए। गाउँमा बस्दा कलिला नानीहरूले भागेर विवाह गर्ने गरेको आफूले देखेपछि उनले बालविवाह रोक्न यस्तो निर्णय गरेको बताए। एक पुस्ताका छोरीहरूले १२ कक्षा पास गरेर २० वर्ष पुगेपछि मात्रै विवाह गरे भने त्यसले अर्को पुस्तामा सकारात्मक सन्देश जाने उनको बुझाइ छ।

‘यसले दिर्घकालीन समाधान दिन सक्छ। हिसाब गर्दा गाउँपालिकालाई पनि त्यति ठूलो आर्थिक भार पर्ने दखिन्न,’ अध्यक्ष महतोले मुलुक प्रेससँग भने। बालविवाह एवं भागीविवाह नियन्त्रण गर्न र छोरीलाई धेरैभन्दा धेरै पढाउन समुदायका सबै पक्षसँग छलफल थाल्ने पनि उनले जानकारी दिए।

‘यहाँ ६०/७० प्रतिशत बालविवाह हुन्छ। त्यसमा पनि भागी विवाहको अवस्था भयावह छ। १४-१५ वर्षका किशोरीहरूले उमेर नपुगी विवाह गर्दा एकातिर उनीहरूले पढाइ पूरा गर्न पाउँदैनन् अर्कातिर कम उमेरमा गर्भवती हुँदा उनीहरूको स्वास्थ्यमा समस्या हुन्छ,’ महतोले भने,‘५० हजार रुपैयाँ दिने निर्णयले सबै समस्या समाधान हुन्छ म भन्दिनँ तर यो पढ्न र २० वर्ष पूरा भएपछिमात्रै विवाह गर्न उत्प्रेरक हुन सक्छ।’

यो समस्या समाधान कसरी गर्ने भन्ने विषयमा विद्यार्थी, अभिभावक, समाजका अगुवा, प्रहरी, प्रशासन सबैसँग अन्तरक्रिया गरेर समाधानको उपाय खोजिने पनि उनले बताए। शिक्षाको स्तर जर्जर रहेको र विद्यालयमा अनुशासन नभएकोले पनि बालविवाहको समस्या बढको उनको बुझाई छ। आफ्नो पहिलो प्राथमिकता नै गाउँपालिकामा शिक्षाको गुणस्तर सुधार गर्ने रहेको उनले सुनाए।

प्रतिकृया दिनुहोस्