×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रुपन्देहीको विकास देश विकासको आधार : गृहमन्त्री खाण

रुपन्देहीको विकास देश विकासको आधार : गृहमन्त्री खाण

लुम्बिनी- गृहमन्त्री बालकृष्ण खाणले मुलुकको करिब मध्य भागमा रहेको रुपन्देहीको विकासले समग्र देश विकासको आधारशिला खडा गर्ने बताएका छन् । गौतमबद्धको जन्मस्थल लुम्बिनी स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहीयानाका, दोस्रो ठूलो भन्सार नाका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समेत यहाँ भएकाले रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र समेत बन्ने उनको भनाइ छ । 

नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नं ३ बाट पाँच दलीय गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार समेत रहेका मन्त्री खाणले भैरहवामा आयोजित कार्यक्रममा सो कुरा बताएका हुन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यात्रुबाहकको साथै कार्गो सेन्टरको रूपमा विकास गरेर भैरहवालाई आर्थिक हब बनाउने अवसर पनि रहेको उनको भनाइ छ । 

काठमाडौको कालीमाटी फलफूल तथा तरकारी केन्द्रभन्दा ठूलो खालको थोक बजार केन्द्र निर्माण योजना रुपन्देहीको सेमलारमा आएको र सो थोक बजार निर्माण पश्चात् यस क्षेत्रमा उत्पादित कृषिजन्य बस्तु गौतमबुद्ध विमानस्थल हुँदै विदेश निर्यात गर्न सकिने उनले बताए । 

विदेशबाट हवाइमार्ग हुँदै ल्याउनुपर्ने मालसामान गौतमबुद्ध विमानस्थल हुँदै ल्याउने र विदेश निर्यात गर्ने सामान पनि यही विमानस्थलबाट पठाउने वातावरण सिर्जना गर्न सके हजारौँ रोजगारीका अवसर खुल्ने उनको भनाइ छ । रोजगारीमा यसै क्षेत्रका स्थानीयले प्राथमिकता पाउने पनि उनले विश्वास व्यक्त गरे ।  

प्रतिकृया दिनुहोस्