×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

सन्दीपको फैसला कुर्दै क्रिकेट संघ

सन्दीपको फैसला कुर्दै क्रिकेट संघ

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले हिजो टी-२० विश्वकप क्रिकेट खेल्ने १५ सदस्यीय टोलीको घोषणा गर्दा स्टार स्पिनर तथा पूर्व कप्तान सन्दीप लामिछाने छुट्न पुगे । यो अनपेक्षित थिएन, किनकि अदालतमा विचाराधीन मुद्दाका कारण उनी क्रिकेटबाट बाहिर छन् ।

नेपाली क्रिकेटलाई यहाँसम्म ल्याइपुर्‍याउन महत्त्वपूर्ण योगदान दिएका सन्दीप विश्वकपजस्तो इभेन्टमा छुट्दा समर्थकहरू खिन्न हुनु स्वभाविक हो ।

यद्यपि, सन्दीपले टी-२० विश्वकप खेल्ने सम्भावना पूर्णरुपमा समाप्त भइसकेको भने छैन । यदि उच्च अदालतले चाँडै मुद्दाको फैसला गरेर सन्दीपलाई सफाइ दिएमा उनले अझै पनि अमेरिकाको टिकट काट्न सक्ने क्यान स्रोत बताउँछ ।

टी-२० विश्वकपका लागि मुख्य स्क्वाड घोषणा गर्ने डेडलाइन हिजोसम्म थियो । त्यसअनुसार नेपालले पनि आफ्नो स्क्वाड घोषणा गरेको हो । तर, यो स्क्वाडमा हेरफेर गर्न सक्ने अवसर अझै छ । कुनै उचित कारण देखाएर मुख्य स्क्वाडमा रहेका खेलाडीलाई रिजर्भ खेलाडीले प्रतिस्थापन गर्न सकिने आइसीसीको प्रावधान छ ।

नेपालले रिजर्भ खेलाडीहरूको घोषणा गरिसकेको छैन । तर, आइसीसीमा २५ जना खेलाडीहरूको नाम दर्ता गरिएको छ । ती २५ मध्ये ५ जना खेलाडीमा रिजर्भमा राख्न सकिन्छ । यदि मुख्य स्क्वाडमा रहेको कुनै खेलाडी कुनै कारणले खेल्न नसक्ने भएमा आइसीसीसँग अनुमति लिएर २५ तारिखसम्ममा रिजर्भ खेलाडीबाट प्रतिस्थापन गर्नुपर्छ । सन्दीपको झिनो आशा भनेको यही नै हो ।

क्यानले किन रिजर्भ खेलाडी घोषणा गरेन भन्ने प्रश्नमा एक पदाधिकारीले सन्दीपको मुद्दातर्फ संकेत गरे । उच्च अदालतमा विचाराधीन मुद्दामा सन्दीपको अर्को सुनवाइ वैशाख २३ गते आइतबारलाई तोकिएको छ । यसअघिका तीन वटा सुनवाइ यत्तिकै स्थगित भएका थिए । यदि आइतबार सुनवाइ सुरु भयो भने एक-दुई दिनमा नै फैसला आउन सक्छ । यदि उच्चले जिल्ला अदालतको फैसला उल्टाएर सन्दीपलाई सफाइ दियो भने उनले विश्वकप खेल्ने ढोका खुल्न सक्ने ती पदाधिकारीले बताए ।

आइसीसीमा दर्ता भएका २५ जनाको सूचीमा सन्दीप पनि छन् भन्ने स्रोतको अपुष्ट दाबी छ । 

प्रतिकृया दिनुहोस्