काठमाडौँ- नेकपा एमालेका नेता खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई किन राजीनामा नदिएको भनेर प्रश्न गरेका छन् ।
सरकारका तर्फबाट अर्थमन्त्री शर्माले संसदमा पेश गरेको आगामी बजेटका सिद्धान्त र प्राथमिकताबारेको छलफलमा बोल्दै बुधबार संसदमा नेता अधिकारीले यस्तो प्रश्न गरेका हुन् ।
अर्थमन्त्री शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको र अदालतले गभर्नरलाई पुनरबहाली गरेपछि अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनको आशय थियो ।
‘नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निकाल्नु भयो, फेरि उहाँ पुनरबाहाली पनि हुनु भयो, ऊ बेलामा महेश आचार्यले त राजीनामा दिनु भएको थियो तर उहाँ त यहीँ हुनुहुन्छ त ?,’ अर्थमन्त्री शर्मातर्फ देखाउँदै भने, ‘यसरी सुशासन कायम हुन्छ ?’
अर्थमन्त्री शर्मा पछिल्लो समय बदनाम भइरहेको समेत उनले आरोप लगाए । बुझेर अनि नबुझेर अर्थमन्त्री शर्माले अर्थतन्त्रका नियम तोडेका उनले आरोप लगाए ।