×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

फाइनलमा दियो नेपालले नेदरल्यान्ड्सलाई कीर्तिमानी लक्ष्य

फाइनलमा दियो नेपालले नेदरल्यान्ड्सलाई कीर्तिमानी लक्ष्य

काठमाडौं - त्रिकोणात्मक ट्राइनेशन  टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि २ सय ३९ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।

ओपनर कुशल भुर्तेल, अलराउन्डर कुशल मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङमा मद्दत मा सो लक्ष्य दिएको हो। टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३८ रन बनायो । नेपालले यो टि२० आई इतिहासमै बनाएको सर्वाधिक ठूलो योगफल हो ।

नेपालले लगातार तेस्रो पटक २ सय भन्दामाथिको योगफल बनाएको हो । नेपालले नेदरल्यान्ड्सँग दोस्रो खेलमा २ सय ६ र मलेसियाविरुद्ध २ सय १७ रन बनाएको थियो । समग्रमा चौथो पटक नेपालले २ सयमाथि योगफल बनाएको हो । पहिलो पटक सन् २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो । कुशल मल्ल २४ बलमा २ चौका र ५ छक्का सहित ५० रनमा अविजित रहे । कुशलले २४ बलमा आफ्नो टि२० आई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए । उप कप्तान दीपेन्द्रसिंह ऐरी १८ बलमा ५ चौका र ३ छक्का सहित ४८ रनमा अविजित रहे ।

नेपालका ओपनर कुशल भुर्तेलले ५३ बलमा ८ चौका र ३ छक्का सहित सर्वाधिक ७७ रनको योगदान दिए । जारी सिरिजमा कुशलको यो चौथो अर्धशतक हो । कुशल भुर्तेल नेपालबाट एकै सिरिजमा सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि बनेका छन् । कुशलले १३ औैं ओभरको चौथो बलमा छक्का साथ ४३ बलमा अर्धशतक पूरा गरेका थिए । कुशल भुर्तेलले क्याच ड्रपको कारण ब्यक्तिगत १२ रनमा जीवनदान पाएका थिए ।
पहिलो विकेटका लागि आसिफ र कुशलले २.२ ओभरमा ३० रनको साझेदारी गरेका थिए । स्पिनर फिलिपे बोइससेवेनको बलमा ठूलो सट खेलेका आसिफ लङअफमा पाउल भान मिकेरेनले उत्कृष्ट क्याच लिएपछि नेपालले पहिलो विकेट गुमाएको थियो । आसिफले ८ बलमा २ छक्का र १ चौका सहित १६ रन बनाए ।
दोस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र कुशलले ५७ रनको अर्धशतकीय साझेदारी गर्दै इनिङ सम्हालेका थिए । ज्ञानेन्द्र बोइससेवेनको १० औं ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा कभरमा पिटर शिलारबाट क्याच आउट हुन पुगे । ज्ञानेन्द्र ठूलो सट खेल्न खोजेपनि लिडिङ एजको कारण सफल हुन सकेनन् । ज्ञानेन्द्र १९ बलमा ३ चौका र २ छक्का सहित ३३ रनमा आउट भए । तेस्रो विकेटका लागि कुशल भुर्तेल र कुशल मल्लले ७६ रनको साझेदारी गरेका थिए । कुशल र दीपेन्द्रले ७५ रनको अविजित साझेदारी गरेका थिए । नेदरल्यान्ड्सका फिलिपे बोइससेवेनले २ विकेट लिए ।

प्रतिकृया दिनुहोस्