×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पुरानो बसपार्कको काठमाडौं ‘भ्यू टावर’ १२ देखि १४ तला थप्ने तयारी

पुरानो बसपार्कको काठमाडौं ‘भ्यू टावर’ १२ देखि १४ तला थप्ने तयारी

काठमाडौं - निर्माणाधीन काठमाडौं दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ मा १२ देखि १४ सम्म तला थप्ने तयारी भइरहेको छ । साबिक पुरानो बसपार्कमा निर्माण भइरहेको टावरको काम हालसम्म १२ तला सम्पन्न भइसकेको छ ।
१२औँ तला निर्माणबारे प्राविधिक जाँचका लागि पुल्चोक इञ्जिनियरिङ क्याम्पसले अध्ययन गरी प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाइ सकेको अवस्था छ ।

प्रतिवेदनअनुसार निर्माण मापदण्डअनुसार नै काम भएको र थप लता थप्न सकिने जनाएकाले कामपाको प्राविधिक टोलीले उक्त प्रतिवेदको अध्ययन गरी तला थपको लागि अनुमति दिने तयारी गरेको छ ।

उक्त टावर विसं २०७२ को भूकम्प अघि २९ तलाकै बनाउने भने पनि भूकम्प पछि १२ तलाको काम अघि बढाइएको थियो ।

अहिले १२ तलालाई बढाएर २४ देखि २६ तलासम्म बनाउने तयारी भइरहेको कामपा सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख महेश काफ्लेले जानकारी दिए । उनका अनुसार कामपाको प्राविधिक टोलीले प्रतिवेदन अध्ययन गरेपछि कती तला थप्नेबारे यकिन हुनेछ ।

हाल टावर निर्माण गरिरहेको कम्पनीले तला थपको लागि कामपालाई निवेदन दिनुपर्छ सोहीअनुसार कामपाले कानुनी प्रक्रिया पूरा गरी तला थपको लागि नक्सा स्वीकृत गर्नेछ ।

प्रमुख काफ्लेका अनुसार भूकम्प जानुअघि २९ तला नै बनाउने योजना थियो, भूकम्प गएसँगै तला घटाएर १२ बनाउने भन्दै सोहीअनुसार निर्माणको काम अघि बढाइएको हो । ‘हालसम्म निर्माण भएको संरचना कस्तो निर्माण भएको छ, निर्माण सामग्री कस्तो प्रयोग गरेको छ, तला थप्न मिल्छ कि मिल्दैन जस्ता विषयबारे पुल्चोक क्याम्पसले अभ्ययन गरेहो हो’, काफ्लेले भने ।

स्तम्भ निर्माणको काम जलेश्वर, स्वच्छन्द र बिकोईले विसं २०७३ साउनदेखि सुरु गरेको हो । स्तम्भ निर्माणका लागि कामपा र जलेश्वर, स्वच्छन्द र बिकोई कम्पनीबीच विसं २०७१ फागुन २२ गते सम्झौता भएको थियो ।

सम्झौताअनुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म भोगचलन गर्न सक्ने उल्लेख गरिएको छ । स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । उक्त भ्यू टावर नेपाली कला संस्कृति झल्किने किसिमको हुने बताइएको छ ।

कूल क्षेत्रफलको ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिने छ । ६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजनाअनुरुप निर्माणको काम अघि बढाइएको हो ।

टावरमा दुईतले भूमिगत पार्किङ हुनेछ । जसमा चार सय सवारी साधन अटाउनेछन् । भुइँतलामा मोटरसाइकल पार्किङ रहनेछ । टावरमा अत्याधुनिक सिनेमा हल रहनेछ । टावरमा बैंक तथा वित्तीय संस्थाहरू, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुराँ तथा पुस्तकालय हुनेछ ।

प्रतिकृया दिनुहोस्