काठमाडौं - अभिनेत्री केकी अधिकारीले प्रेमी तथा हाम्रोबजार डटकमका सीईओ रोहित तिवारीसँग लगनगाँठो कसेकी छन्। उनले काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा बिहीबार कसेकी हुन् । परिवारका सदस्य र निकट आफन्त तथा साथीहरुको उपस्थितिमा विवाह कार्यक्रम सम्पन्न भएको हो ।
सामाजिक संजाल फेसबुकमा आफ्नो विवाहको फोटोहरु सार्वजनिक गर्दै केकीले लेखेकी छन्, ‘‘आजका दिनसम्म मलाई कलाकारको रुपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु । कलाकारका रुपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएकोमा मेरा प्रिय दर्शकसँग मेरो विवाहको शुभ समाचार बाँढ्न पाउँदा अत्यन्तै हर्षित छु । जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरुप यहाँहरुको आशिर्वादको अपेक्षा गरेका छौं । यहाँहरुको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौं ।’’
निकै गोप्य रुपमा केकी र रोहितले बुधबार मेहेन्दी उत्सव गरेका थिए । एक वर्षदेखिको प्रेमलाई उनीहरुले बिहेमा परिणत गरेका हुन् । बुधबार नै उनीहरुबीच बिहे भएको हल्ला चलेको थियो । तर हल्लालाई गलत प्रमाणित गर्दै उनीहरुले मेहेन्दीको तस्वीर सार्वजनिक गरेका थिए ।
अधिकारी फिल्म,म्युजिक भिडियो र टेलिभिजन रियालिटी शोहरुमा व्यस्त छिन् भने तिवारी अनलाइन प्लेटफर्म हाम्रो बजारका सीईओको रुपमा कार्यरत छन् ।