काठमाडौं - राजस्थान रोयल्सका कप्तान सन्जु सामसनले शतकीय पारी खेले पनि आईपीएलको आफ्नो पहिलो खेलमा राजस्थान, पन्जाब किंग्ससँग चार रनको झिनो अन्तरले पराजित भएको छ ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा २२१ रन बनायो भने जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा सात विकेट गुमाएर २१७ रन बनायो ।
खराब सुरुवात गरे पनि राजस्थानका कप्तान सामसनले ६३ बलको सामना गर्दै १२ चौका र सात छक्काको मद्धतमा ११९ रन बनाउँदै जित नजिक सम्म पुर्याए । अन्तिम बलमा जितका लागि पाँच रन चाहिएको अवस्थामा सामसन आउट हुँदा राजस्थानले हारको सामना गर्न पुग्यो ।
सामसन बाहेक राजस्थाको लागि जस बटलर र रियान परागले समान २५-२५ रन तथा शिवम दुबेले २३ रनको योगदान दिए ।
अन्तिम बलमा सामसनको विकेट लिएका अर्शदिप सिंहले सर्वाधिक तीन विकेट लिए भने मोहम्मद शामीले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए ।
पन्जाबको लागि कप्तान केएल राहुलले सर्वाधिक ९१ रन बनाए भने दिपक हूडाले आक्रमक पारी खेल्दै २८ बलमा चार चौका र छ छक्काको मद्धतमा ६४ रन बनाए । आईपीएलमा आफ्नो तेश्रो शतक बनाउनबाट नौं रनले चुकेका राहुलले सात चौका र पाँच छक्का प्रहार गरे ।
२२ रनको अवस्थामा १४ रन बनाएका ओपनर मयंक अग्रवाल आउट भए पनि कप्तान राहुलले दोश्रो विकेटका लागि २८ बलमा ४० रन बनाएका क्रिस गेलसँग ४५ बलमा ६७ रनको साझेदारी गर्दै पन्जाबको पारी सम्हाले । त्यस पछि उनले हूडासँग मिलेर ४७ बलमा तुफानी १०५ रनको साझेदारी गर्दै पन्जाबलाई विशाल योगफल सम्म पुर्याए ।
राजस्थानका चेतन साकरियाले सर्वाधिक तीन विकेट आफ्नो नाममा दर्ता गराए भने क्रिस मोरिसले पनि दुई विकेट हात पारे ।