×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हुम्लामा अझै पुगेन पाठ्यपुस्तक

हुम्लामा अझै पुगेन पाठ्यपुस्तक

सिमकोट,कोरोना कहरले हुम्लामा सबैभन्दा बढी शिक्षा क्षेत्र थिलथिलो बनेको छ । हरेक वर्षको फागुन २ गतेदेखि शुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण गत असार १ गतेबाट मात्रै शुरु भयो ।

नयाँ शैक्षिक सत्र शुरु भएको महिना दिन बितिसक्दा विद्यालय खुल्न सकेका छैनन् नै, विद्यार्थीका हातमा पाठ्यपुस्तकसमेत पुगेको छैन । कोरोना सङ्क्रमण फैलने डरले निषेधाज्ञामा घरमै सीमित भएका विद्यार्थीले शैक्षिक सत्र शुरु भएको महिना दिन बितिसक्दा पनि पाठ्यपुस्तक नपाउँदा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ ।

अठार वटा निजी प्रकाशन गृहले हुम्लामा दिँदै आएको पाठ्यपुस्तकको ढुवानी रकम घटाएपछि जिल्लामा पाठ्यपुस्तक आउन नसकेको हो । प्रकाशन गृहले पाठ्यपुस्तक ढुवानीमा दिँदै आएको ९० प्रतिशत रकमलाई घटाएर ३० प्रतिशतमा झारेको छ । ढुवानी रकम घटेपछि कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक उठाउन नसकिएको रोकाया पुस्तक पसलका ज्ञानबहादुर रोकायाले बताए ।

‘कक्षा ५ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक नेपालगञ्जसम्म आइपुगेको छ तर ढुवानीका कारणले रोकिएको छ,’ उनले भने । उनले अबको एक दुईदिनमा समन्वय गरेर जिल्लामा ल्याउने बताए । उनले सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकाका लागि पाठ्यपुस्तक लैजाने जिम्मा लिएका छन् । यी तीनवटा गाउँपालिकामा ५८ वटा विद्यालय रहेका छन् । त्यहाँका लागि हवाईमार्गबाट ढुवानी भएर पाठ्यपुस्तक जिल्लामा पुग्ने गर्दछ ।

खार्पुनाथ गाउँपालिकामा भने कोरोना सङ्क्रमणको डरका कारण विद्यालय सञ्चालन गर्न नसके पनि विद्यार्थीको हातहातमा पाठ्यपुस्तक उपलब्ध गराउन पुस्तक एजेन्ट र सम्बन्धित निकायलाई ताकेता गर्ने गाउँपालिकाका अध्यक्ष कर्ण रावलले जानकारी दिए । जिल्लाका कुनै पनि विद्यालयमा पाठ्यपुस्तक पुग्न नसकेको गुनासो आउन थालेको छ ।

बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा मनिषा रावतले लामो समय कोरोना सङ्क्रमणका कारण विद्यालय बन्द हुँदा आफूहरुको पठनपाठनमा निकै घाटा भएको गुनासो गरिन् । विद्यालय सञ्चालन नभए पनि पाठ्यपुस्तक समयमै ल्याइदिएको भए घरमै बसेर अध्ययन गर्न सकिने उनको भनाइ छ । रासस

प्रतिकृया दिनुहोस्